काठमाण्डू, २६ वैशाख– राष्ट्रपति रामचन्द्र पौडेलले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव र सीपलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नुपर्ने बताएका छन् ।
शनिबार मनमोहन मेमोरियल फाउण्डेशनले राजधानीमा आयोजना गरेको ‘ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलन’ लाई सम्बोधन गर्दै उनले ज्येष्ठ नागरिकलाई उत्पादनमूलक कामसँग जोड्न र नीति निर्माणमा उनीहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने बताए ।
‘ज्येष्ठ नागरिकले गरेका कामका असल अभ्यासलाई पाठ्यक्रम वा अन्तरक्रियामार्फत नयाँ पुस्ताले ग्रहण गर्न सक्छ भने शारीरिक रूपमा सक्षम र इच्छुक ज्येष्ठ नागरिकलाई सुहाउँदा काममा सहभागी गराएर उत्पादनसँग जोड्नुपर्छ,’ राष्ट्रपति पौडेलले भने ।
नेपालको जनसङ्ख्या क्रमशः बुढ्यौलीतर्फ उन्मुख भइरहेको उल्लेख गर्दै उनले ज्येष्ठ नागरिकको व्यवस्थापन र उपयोगका क्षेत्रमा अन्य देशबाट पनि सिक्न सकिने बताए ।
‘युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै रोजगारी दिन चुनौती छ । यस्तो अवस्थामा ज्येष्ठ नागरिकहरूको प्रभावकारी तथा उत्पादनमूलक व्यवस्थापनका लागि अन्य देशबाट नेपालले पनि सिक्ने अवसर हुनेछ भन्नेमा म विश्वस्त छु,’ उनले भने ।
राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा, सम्मानजनक जीवन र पारिवारिक वातावरणको सुनिश्चितता आवश्यक रहेको उल्लेख गरे ।
‘सहरीकरण, वैदेशिक रोजगारी र पारिवारिक असहिष्णुताका कारण जीवनको उत्तरार्धमा वरिष्ठ नागरिकका आँखामा आँसु आएका समाचारले जोसुकैको पनि मन द्रवित बनाउँछ,’ उनले भने ।
उनले सम्मेलनले ज्ञान र सीपको पुस्तान्तरण तथा पुरानो र नयाँ पुस्ताबीच समन्वयको सेतु बन्ने विश्वास व्यक्त गरे ।
यस क्रममा राष्ट्रपति पौडेलले मनमोहन अधिकारीलाई दक्षिण एसियाकै पहिलो निर्वाचित वामपन्थी प्रधानमन्त्री तथा सरल र सादगी नेताका रूपमा स्मरण गरे ।
‘नेपालको प्रजातान्त्रिक आन्दोलनका सैद्धान्तिक प्रणेता विश्वेश्वर प्रसाद कोइरालासँगै मनमोहनजी र अन्य नेताले नेपालको मात्र नभई भारतको स्वतन्त्रता आन्दोलनमा पनि उल्लेखनीय योगदान दिनुभएको थियो,’ पौडेलले भने ।
राष्ट्रपति पौडेलले २०५१ मा मनमोहन अधिकारी नेतृत्वको सरकारले नेपालमा पहिलोपटक मासिक वृद्धभत्ता सुरु गरेको स्मरण गर्दै ज्येष्ठ नागरिकलाई राष्ट्रसेवामा योगदान पुर्याएको विशिष्ट वर्गका रूपमा सम्मान गर्नुपर्ने बताए ।