कम तौलको तेल बेचेर ठगी गर्ने उद्योगी पक्राउ

काठमाण्डु टुडे २०८३ वैशाख २५ गते १४:०७ मा प्रकाशित

काठमाण्डू, २५ वैशाख– ललितपुरको लेलेस्थित महादेव खोलामा सञ्चालित ओमकार आयल ईन्डस्ट्रिज प्रालिले मापदण्डभन्दा कम तौल भएको खाने तेल बिक्री वितरण गरी ठगी गरेको भेटिएको छ ।

उक्त उद्योगबाट उत्पादन हुने छहारी र ओमकार ब्राण्डको सनफ्लावर तेल (१ लिटर र ५०० एमएल) को प्याकेटमा तोकिएको भन्दा कम तौल राखी बजार पठाउने गरेको विशेष सूचनाका आधारमा काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानका क्रममा प्याकेजिङ्ग गरिएका तेलका प्याकेटहरूमा वास्तविक तौल कम भएको पाइएपछि प्रहरीले उद्योगका सञ्चालकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१३ पाटन घर भई हाल ओमकार आयल ईन्डस्ट्रिज सञ्चालन गर्दै आएका ४३ वर्षीय विजय श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएर उनले तेल भण्डारण गरेका विभिन्न स्थानहरूमा छापा मारेको थियो । सो क्रममा प्रहरीले ठुलो परिमाणमा मापदण्ड विपरीतका तेलका कार्टुनहरू बरामद गरेको छ।

प्रहरी उपरीक्षक एवं सूचना अधिकारी रामेश्वर कार्कीका अनुसार ललितपुरको लेले महादेव स्थानबाट २०० कार्टुन, इमाडोलबाट ५३० कार्टुन र थसिखेलबाट १७५ कार्टुन गरी जम्मा ९०५ कार्टुन छहारी तथा ओमकार ब्राण्डका सनफ्लावर तेल बरामद गरिएको छ ।

पक्राउ परेका श्रेष्ठ र बरामद गरिएका सामानहरूलाई ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको कार्यालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us