काठमाण्डू, २५ वैशाख– सरकारले सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिसमा वरिष्ठता मिचिएको भन्ने प्रश्नको जवाफ दिँदै मुद्दा फर्स्योट दर लाई मुख्य सूचक मानेर सिफारिस गरिएको बताएको छ ।
नेपाल सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै इतिहासमै पहिलोपटक कार्यक्षमता र सूचकका आधारमा प्रधानन्यायाधीशको सिफारिस भएको जानकारी दिए ।
वरिष्ठता मिचेर गरिएको सिफारिसबारे सोधिएको जिज्ञासामा प्रवक्ता पोखरेलले भने, ‘६ जनामध्ये उहाँ नै सबैभन्दा उत्कृष्ट हो भन्न खोजेको होइन, तर हामीले मुद्दा फर्स्योटको सूचकलाई हेर्दा उहाँ सबैभन्दा अगाडि देखिनुभयो ।’
पोखरेलले न्याय परिषद् र संवैधानिक परिषद्को संरचनामाथि पहिलेदेखि नै राजनीतीकरणको प्रश्न उठ्ने गरेको स्मरण गराउँदै, अहिलेको सिफारिसलाई शतप्रतिशत पूर्ण नभने पनि कार्यक्षमताका आधारमा गरिएको यो एउटा राम्रो सुरुवात भएको पनि बताएका छन ।