प्रधानन्यायाधीशमा मनोज शर्मा सिफारिस

काठमाण्डु टुडे २०८३ वैशाख २४ गते १९:३८ मा प्रकाशित

काठमाडौं, २४ वैशाख : संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदका लागि न्यायाधीश मनोजकुमार शर्मालाई सिफारिस गर्ने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको परिषद् बैठकले शर्माको नाम सिफारिस गरेको राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले जानकारी दिए ।

उनका अनुसार आफू र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेबाहेक अन्य सदस्यहरूले शर्माको पक्षमा मत दिएका थिए ।
संवैधानिक परिषद्मा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता तथा कानुनमन्त्री सदस्य रहने संवैधानिक व्यवस्था छ ।
लामो समय कानुनी क्षेत्रमा सक्रिय रहेका शर्मा सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश हुन् । परिषद्ले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाललाई पछि पार्दै शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो ।
वीरगन्जमा सन् १९७० मा जन्मिएका शर्माले नेपाल ल क्याम्पसबाट बीएल गरेका छन् । उनले भारतको पुणे विश्वविद्यालयबाट एलएलएम तथा त्रिभुवन विश्वविद्यालयबाट श्रम कानुन विषयमा  पिएचडी गरेका छन् ।
उनको न्यायिक यात्रा पुनरावेदन अदालतबाट सुरु भएको थियो ।

उनी सन् २०१३ जुन १० देखि २०१५ डिसेम्बर १२ सम्म अतिरिक्त न्यायाधीशका रूपमा कार्यरत रहे । पछि सन् २०१९ अप्रिल १९ मा उनी सर्वोच्चको न्यायाधीश नियुक्त भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us