वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौँ ठगेको आरोपमा ५ जना पक्राउ

काठमाण्डु टुडे २०८३ वैशाख २४ गते १४:१२ मा प्रकाशित

काठमाण्डू, २४ वैशाख– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका–८ बस्ने सुनसरी घर भएका ३२ वर्षीय राज कुमार तामाङ, काठमाण्डू महानगरपालिका–१४ बस्ने दाङ घर भएका ३१ वर्षीय प्रकाश केसी, काठमाण्डूको गोकर्णेश्वर नगरपालिका–५ बस्ने काभ्रे घर भएका ३३ वर्षीय डिल्लीमान तामाङ, ललितपुर गोदावरी नगरपालिका–१४ बस्ने पाँचथर घर भएका ४७ वर्षीय श्रीहाङ एकतिन र भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ बस्ने स्याङ्जा घर भएका २८ वर्षीय नमुना भण्डारी रहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकामध्ये राज कुमारले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ११ लाख ५५ हजार रूपैयाँ, प्रकाशले अमेरिका पठाइदिन्छु भन्दै १२ जना पीडितहरूबाट ९३ लाख रूपैयाँ, डिल्लीमानले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १४ लाख ७५ हजार रूपैयाँ, श्रीहाङले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख २५ हजार रूपैयाँ र नमुनाले मकाउ पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख ५० हजार रूपैयाँ लिएको आरोप छ ।

पीडितहरूले पैसा बुझेपछि सम्पर्कविहीन भएको उजुरी दिएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डू पठाइएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us