वामपन्थी मात्रै होइन, लोकतान्त्रिक शक्तिहरू नै हारेः एमाले महासचिव पोखरेल

काठमाण्डु टुडे २०८३ वैशाख २४ गते १२:४४ मा प्रकाशित

काठमाण्डू, २४ वैशाख– एमाले महासचिव शङ्कर पोखरेलले पछिल्लो चुनावी परिणामलाई वामपन्थीहरूको मात्र नभई समग्र लोकतान्त्रिक शक्तिहरूकै हारको तर्क गरेका छन ।

आज (बिहिबार) सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै महासचिव पोखरेलले यस्तो तर्क गरेका हुन । एमाले महासचिव पोखरेले भारतको केरल राज्यमा भएको वामपन्थी गठबन्धनको हारसँग जोडेर नेपालको वाम आन्दोलन सङ्कटमा परेको भनी भइरहेका विश्लेषणप्रति असहमति समेत जनाएका छन ।

उनले लेखेका छन, ‘केरलमा प्रायः प्रत्येक निर्वाचनमा सत्ता परिवर्तन हुँदै आएको इतिहास छ । अपवादका रूपमा अघिल्लो निर्वाचनमा वाम गठबन्धन पुनः सत्तामा दोहोरिएको थियो, ‘नेपालको वामपन्थको भविष्य कुनै एक चुनावी परिणामले होइन, त्यसका भविष्यमुखी एजेन्डा, जनता र राष्ट्रको हितका पक्षका गतिविधि र जनतासँगको सम्बन्धका आधारमा निर्धारण हुन्छ ।’

उनले अहिलेको हारलाई केवल वामपन्थको मात्र हार मान्न नसकिने स्पष्ट पारेका छन् । यो समग्र नेपालका लोकतान्त्रिक शक्तिहरूको हार भएको उनको निष्कर्ष छ । ‘त्यसैले अहिलेको मुख्य विषय नेपालको लोकतान्त्रिक आन्दोलनको आधारका रूपमा रहेका शक्तिहरूले यस प्रकारको हारको कारण खोज्नु र त्यसको गम्भीर समीक्षा तथा मूल्याङ्कन गर्नु हो,’ महासचिव पोखरेलले अगाडि भनेका छन्, ‘सुरक्षित लोकतान्त्रिक भविष्य निर्माणका लागि पुनर्जागरण र पुनर्गठनको स्पष्ट योजना तयार गर्नु अहिलेको आवश्यकता हो ।’

सङ्कट र चुनौतीको समयमा निराश भएर पलायन हुनु अवसरवादी र कायरहरूको बाटो भएको टिप्पणी गर्दै उनले क्रान्तिकारीहरूले त्यस्ता चुनौतीको डटेर सामना गर्ने बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us