काठमाण्डू, २३ वैशाख– काठमाण्डूको कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या गरीएको छ । कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा युवकको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डू एसपी पवनकुमार भट्टराईका अनुसार, विपिन घिमिरेमाथि दिउँसो साढे २ बजेको समयमा धारिलो हतियार प्रहार भएको थियो ।
गम्भीर घाइते भएका उनलाई उद्धार गरेर कीर्तिपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रहरीका अनुसार साथी–साथीबीच झगडा हुँदा हतियार प्रहार भएको थियो ।
हतियार प्रहार गर्नेको पहिचान भइसकेको र छिट्टै पक्राउ पर्ने एसपी भट्टराईले जानकारी दिए । ‘हतियार प्रहार गर्नेका पहिचान भइसकेको छ । चाँडै पक्राउ गर्छौ । हाम्रो टोली खटिरहेको छ’ एसपी भट्टराईले भने ।