इन्द्रचोकमा पेस्तोल ताक्दै गहना पसलमा लुटपाट गर्ने पक्राउ

काठमाण्डु टुडे २०८३ वैशाख २३ गते १२:१० मा प्रकाशित

काठमाण्डू, २३ वैशाख– काठमाण्डू महानगरपालिका–२९ इन्द्रचोकस्थित एक ज्वेलरी (गहना पसल) पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुरको ठिमी नगरपालिका–९ बोडे बस्ने ३० वर्षीय विकेश राजवाहक, काठमाडौं डल्लु बस्ने ३४ वर्षीय अरुण भुजेल र ललितपुरको महालक्ष्मी नगरपालिका–६ घर भएका हरिकृष्ण महर्जन रहेको प्रहरीले जनाएको छ । राजवाहक र भुजेललाई जिल्ला प्रहरी परिसर काठमाण्डू टोलीले र महर्जनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरुले १७ वैशाखमा इन्द्रचोकको एक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुट्ने प्रयास गरेका थिए। सो क्रममा पसलमा रहेकी महिलाले उनीहरुलाई प्रतिकार गर्दै भगाएकी थिइन् । उक्त भिडियो भाइरल भएको थियो ।

यसअघि यही समूहले २१ पुसमा काठमाण्डू–२५ मांसान गल्लीमा रहेको होलसेल पसमा यसैगरी पेस्ताल ताक्दै २ तोलाको सुनको सिक्री, नगद ४ लाख, २ थान मोबाइल र सीसीक्यामेरा समेत लुटेर लगेको पाइएको परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

पक्राउ परेकाहरुबाट चाइजिज पेस्तोल समेत बरामद भएको छ । पेस्तोलमा लाग्ने म्यागजिन १ थान, गोली १ थान, नक १ थान, घटनामा प्रयोग भएका कपडाहअरु र घटनामा प्रयोग भएको स्कुटर पनि बरामद गरिएको परिसरका एसपी भट्टराईले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us