काठमाण्डू, २२ वैशाख– प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई हटाउने तयारी गरेका छन । यसका निम्ति उनले राईलाई स्पष्टीकरण सोधेका हुन् ।
सचिव राईले सभामुखलाई स्पष्टीकरण पनि बुझाइसकेका छन् । राईलाई मुख्यत दुईवटा विषयमा स्पष्टीकरण सोधिएको छ । पहिलो, प्रतिनिधिसभा अन्तर्गतका संसदीय विषयगत समितिलाई सक्रिय बनाउन किन तदारुकता नदेखाएको ।
दोस्रो, सांसदहरूलाई बोल्न दिने समयमा पक्षपातपूर्ण प्रस्ताव किन गरेको ? २१ फागुनमा भएको निर्वाचनबाट आएको प्रतिनिधिसभाले २७ चैतमै संसदीय विषयगत समिति गठन गरेको थियो । वैशाख ४ गते सबै समितिले सभापति पनि पाए ।
तर, नेतृत्व पाएर दौडिनुपर्ने समितिहरू अझै अलमलमै छन् । यसलाई कार्यसम्पादनसँग जोडेर सभामुखले सचिव राईलाई स्पष्टीकरण सोधेका हुन् । सांसदहरूलाई बोल्न दिने समयमा राईले पक्षपात गरेर प्रस्ताव ल्याए भन्ने आरोप पनि छ ।
सचिव राई अघिल्ला सभामुख देवराज घिमिरेको सिफारिसमा नियुक्त भएका थिए । तत्कालीन सभामुख घिमिरेले २०८१ पुस १६ गते राईलाई सचिवमा नियुक्ति सिफारिस गरेका थिए ।
संविधानको धारा १०६ को उपधारा १ बमोजिम सभामुखले सचिव पदमा नियुक्त गर्नका लागि सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।