इन्धनको मूल्य घटाउन सकिँदैनः सरकार

काठमाण्डु टुडे २०८३ वैशाख २२ गते १६:१३ मा प्रकाशित

काठमाण्डू, २२ वैशाख– सरकारले पेट्रोलियम पदार्थ लगायतका इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको बताएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार बिक्री गर्नुपर्ने भएकाले पेट्रोलियम पदार्थ लगायत इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको जानकारी गराएका हुन ।

आज (मंगलबार) संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले सरकारले बाध्य भएर उक्त वस्तुहरूको मूल्य बढाउनुपर्ने अवस्था रहेको पनि बताएका हुन । आम उपभोक्ताहरूले मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई दबाब दिइरहेका छन् ।

तर सचिव राउतले अहिले पनि खाना पकाउने ग्यास, पेट्रोल लगायतका वस्तुहरूमा सरकारले घाटामा व्यापार गरिरहेको दाबी समेत गरेका छन । स्वचालित मूल्यमा बिक्री गर्ने भने सरकारले पेट्रोल लगायतका इन्धनहरूको बिक्री गर्दा हालको भन्दा पनि बढी मूल्य पर्न जाने बताए । उनले सरकारले उपभोक्ताहरू मारमा नपरुन् भनेर नै स्वाचालित मूल्यअनुसार उक्त वस्तुको बिक्री नगरेको पनि बताए ।

सचिव राउतले भने, ‘कस्तो अवस्था छ भने महँगोमा किन्ने अनि सस्तोमा बिक्री हुँदै जाँदाखेरी यो पहिलोका सञ्चित मुनाफा पनि सकिएको छ । सरकारले बाध्य भएर मूल्यवृद्धिको कदम चाल्नुपरेको छ ।

पछिल्लो समय सरकार गठन भएपछि नियमित रूपमा मूल्यमा तलमाथि गर्ने काम भएको छ । तर पूर्ण रूपमा स्वचालितमा जाने हो भने यो मूल्य धेरै माथि जाने अवस्था हुन्छ । तर सरकारले अलि मूल्य तल नै राखेर काम गरेको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us