काठमाण्डू, २२ वैशाख– नेपाल चिकित्सक संघको अध्यक्षमा डा. बद्री रिजाल विजयी भएका छन । संघको ३० औं कार्यकारिणीका लागि भएको निर्वाचनमा डा.अध्यक्ष निर्वाचित भएका हुन् ।
डा.रिजालले आफ्ना नजिकका प्रतिस्पर्धी डा.मंगल रावल भन्दा २५६ बढी मत प्राप्त गर्दै विजयी भएका हुन । रिजालले ३१९६.मत पाउँदा डा.रावलले २९४० मत प्रप्त गरे । अध्यक्षका अर्को प्रतिस्पर्धी डा.नारायणप्रसाद भुसालले ८६९ मत प्राप्त गरे ।त्यसैगरी बरिष्ठ उपाध्यक्षमा डा. सञ्जिव तिवारी विजयी भएका छन् । उनले ३०३६ मत पाए । उनका प्रतिस्पर्धी डा.कीर्तिपाल सुवेदीले २३०२ मत ल्याए । डा.अजय कुमार मिश्रले १४२१ प्राप्त गरे । महासचिवमा डा.विश्वराज दवाडी विजयी भएका छन् । उनले २७२२ मत पाए ।
उनका प्रतिस्पर्धी डा.कालुसिंह खत्रीले २४२३ मत पाउँदा डा.अमृत भुसालले १६४६ मत प्राप्त गरे । उपाध्यक्षमा हरुमा डा.रोशन खड्का (कोशी), डा.अमृत राजन मिश्र (मधेश), डा.सुवास भट्टराई (बागमती), डा.योगेशराज सिग्देल(गण्डकी), डा.नन्दा गुरुङ(लुम्बिनी), डा.रविन खड्का (कर्णाली) र डा.प्रमोद जोशी(सुदूर–पश्चिम) विजयी भएका छन् ।
सचिवमा डा.हुलास अग्रवाल विजयी भएका छन् भने कोषध्यक्षमा डा.तेजुसिंह मल्ल विजयी भए । सदस्यहरूमा डा.अमित झा, डा.राकेश साह, डा.पल्पसा श्रेष्ठ, डा.विना श्रेष्ठ, डा.सुमित काफ्ले र डा.शेषराज घिमिरे विजयी भएका छन् । चिकित्सक संघको नयाँ नेतृत्वका लागि काठमाण्डू र उपत्यकाबाहिर वैशाख ४ र ५ गते अनि काठमाण्डू उपत्यकामा वैशाख १७ र १८ गते निर्वाचन भएको थियो । सबै गरी ७१०० मत खसेको थियो । यस पटक मुख्यतथा ३ प्यालन टिम बनाएर चुनावी मैदानमा उत्रिएका थिए ।
टिम बन्द्री, टिम मंगल र टिम रिफर्मको नाममा प्यानल बनाएर चुनावमा होमिएका थिए । नेपाल चिकित्सक संघको चुनावमा रिजाल नेतृत्वको प्यानलले बहुमतसहित जित हात पारेको छ । मतपरिणाम अनुसार २ जना उपाध्यक्ष र ३ सदस्यबाहेक अन्य सबै पदमा बद्री प्यानलकै उम्मेदवार विजयी भएका छन् ।
गण्डकी उपाध्यक्ष विजयी डा. यज्ञराज सिग्देल र कर्णाली उपाध्यक्षमा विजयी डा.रविन खड्का भने मंगल प्यालनका हुन् । त्यसैगरी सदस्यमा टिम मंगलबाट डा.अमित झा र डा.पल्पसा श्रेष्ठ र टिम रिफर्मबाट डा.शेषराज घिमिरेले जित हात पारेका छन् ।