काठमाण्डू, २१ वैशाख -सर्वोच्च अदालतले नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष एवं व्यवसायी शेखर गोल्छालाई धरौटीमा रिहा गर्न परमादेश जारी गरेको छ ।
न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले सोमबार गोल्छालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
सर्वोच्चका प्रवक्ता सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले धरौटी राख्न नसकेको अवस्थमा मात्र थुनेर अनुसन्धान गर्न परमादेश जारी भएको जानकारी दिए । गोल्छालाई धितोपत्र कारोबारसम्बन्धी कसुरको अनुसन्धानका क्रममा
विवादित व्यवसायी दीपक भट्टसँग मिलेमतो देखिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको थियो ।
अनुसन्धान अधिकारीले गोल्छासँग धरौटी वा जमानत नमागी अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिएको सर्वोच्चले आदेशमा उल्लेख गरेको छ ।
सर्वोच्चले गत ११ र २१ वैशाखमा गोल्छालाई थुनामा राख्न काठमाण्डू जिल्ला अदालतले दिएको आदेशसमेत बदर गरेको छ ।
‘अब धितोपत्र सम्बन्धी कसुरको हकमा यी निवेदकसँग धरौटी वा जमानत माग गरी उल्लिखित दफा १०४ को कानुनी व्यवस्था अनुसार आवश्यक अनुसन्धान गर्न र धरौटी वा जमानत दिन नसकेको अवस्थामा मात्र हिरासतमा राखी अनुसन्धान गर्न परमादेश जारी गरिदिएको छ,’ सर्वोच्चको आदेशमा छ ।