छानबिनप्रति सकारात्मक छु, सघाउँछुः मुख्यमन्त्री बानियाँ

काठमाण्डु टुडे २०८३ वैशाख २१ गते १७:०६ मा प्रकाशित

काठमाण्डू, २१ वैशाख– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर र कार्यालयहरूमा छापा मारेकोप्रति आपत्ति व्यक्त गरेका छन ।

आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री बानियाँले राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिक रूपमै पनि उपस्थित हुने अवस्थामा छापा मारिएको भन्दै आपत्ति व्यक्त गरेका हुन ।

साथै, आफूले जुनसुकै अनुसन्धानमा पनि सघाउने समेत बताएका छन । ‘राज्यको एक जिम्मेवार पदाधिकारीको हैसियतले पुनस् स्पष्ट पार्न चाहन्छु कि संवैधानिक र कानूनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा मेरो पूर्ण समर्थन र सहयोग रहन्छ,’ उनले भनेका छन् । उनले आफ्ना शुभेच्छुक र शुभचिन्तकलाई चिन्तित नहुन पनि आग्रह गरेका छन् ।

उनले अवैध सम्पत्ति लुकाएको आशंकामा सम्पत्ति शुद्धीकरण विभागले सोमबार उनको हेटौंडास्थित घर र व्यवसाय एवं काठमाडौंको नक्साल र सुन्धारामा रहेको कार्यालयमा छापा मारेको थियो । त्यसपछि एक विज्ञप्ति जारी गर्दै उनले अनुसन्धानमा सघाउन तयार रहेको तर छापा मार्नु आपत्तिजनक रहेको जनाएका हुन् ।

‘मैले बागमती प्रदेश सरकारको सार्वजनिक कार्य सञ्चालनमा खर्च कटौतीका साथै आर्थिक मितव्ययीताका लागि निरन्तर काम गर्दै आएको छु,’ उनले भनेका छन्, ‘आवश्यकता र औचित्यतामा आधारित योजना तथा कार्यक्रम र बजेटमा पारदर्शितालाई नीतिगत रूपमा अगाडि बढाइएको बेहोरा सबैको जानकारीमा छ ।’ राज्यको जुनसुकै तहले सुशासनको पक्षमा गर्ने हरेक कार्यमा म सहयोग गर्न तत्पर रहेको स्पष्ट उनले पारेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us