सांसदहरूलाई मन्त्री गौतमको आग्रहः ‘एजेन्डामा केन्द्रित भएर छलफल गरौँ, समयको ख्याल गरौँ’

काठमाण्डु टुडे २०८३ वैशाख २१ गते १६:१८ मा प्रकाशित

काठमाण्डू, २१ वैशाख– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनचासो र तोकिएको विषयमा मात्र केन्द्रित भएर छलफल गर्न सांसदहरूलाई आग्रह गरेकी छन ।

आज (सोमबार) सिंहदरबारमा बसेको संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले संसद् र संसदीय समितिलाई प्रभावकारी बनाउन सांसदहरूले विषय केन्द्रित छलफल गर्न आवश्यक रहेको बताएकी हुन ।

मन्त्री गौतमले सांसदहरूले एजेन्डामा केन्द्रित भएर आफ्ना भनाइ राखे मात्रै सरकार त्यसको स्पष्ट जवाफ दिन बाध्य हुने पनि बताएकी छन । सरकार सांसदहरूले उठाएका हरेक विषयवस्तुमा संवेदनशील रहेको उल्लेख गर्दै उनले सरकारबाट ठोस जवाफको अपेक्षा गर्ने हो भने बैठकको मूल विषयवस्तुमै केन्द्रित हुनुपर्ने तथ्य स्मरण गराइन् ।

मन्त्री गौगमले भनिन्, ‘अबदेखि हामी एजेन्डा केन्द्रित भएर पूर्वतयारीका साथ आयौँ भने सरकारले पनि आफ्नो पोजिसन तयार गरेर तपाईंहरूका प्रश्नको स्पष्ट जवाफ लिएर आउन सक्छ, ‘त्यसकारण मैले एजेन्डा केन्द्रित भएर छलफल गर्न समिति सदस्यहरूलाई आग्रह गरेकी हुँ ।’

यस्तै, मन्त्री गौतमले संसद् र संसदीय समितिको कामलाई प्रभावकारी बनाउन समय व्यवस्थापन र अनुशासनमा ध्यान दिनु जरुरी रहेको बताइन् । संसद्को पूर्ण बैठकमा बोल्नका लागि समय छुट्याइएको हुने तर समितिमा समयको पावन्दी नहुने मर्मको दुरुपयोग गर्न नहुने उनको भनाइ थियो ।

समितिमा विषयवस्तु राख्दा समयको कडा सीमा नतोकिनुको अर्थ अनुशासनको सीमाभन्दा बाहिर गएर लामो समयसम्म बोलिरहनु नभएको पनि बताएकी छन । बैठकलाई जति पनि लम्ब्याउन सकिने भए पनि त्यसले परिणाम नदिने भन्दै उनले निश्चित फ्रेमभित्र बसेर विषय उठान गर्दा मात्र जनचासोका मुद्दा सम्बोधन गर्न सहज हुने पनि बताएकी छन ।

संसद्को नियममा रहेर काम गर्न र मूल एजेन्डामा मात्रै बहस गर्न आग्रह गर्दै उनले समयको ख्याल गरेर अघि बढे मात्र समितिको उद्देश्य पूरा हुने बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us