काठमाण्डू, २१ वैशाख– सम्पत्ति शुद्धीकरण विभागको टोलीले बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर तथा उनकै निर्माण कम्पनीका कार्यालयमा सोमबार छापा मारेको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा विभागको टोलीले बानियाँको घर तथा उनकै स्वामित्वमा रहेको निर्माण कम्पनीको कार्यालयमा छापा मारेको बताइएको छ । छापा मार्नका लागि विभागको टोली काठमाडौँबाट हेटौंडा पुगेको थियो । मुख्यमन्त्री बानियाँको हेटौंडास्थित निवासमा विभागको टोलीले करिब दुई घण्टा बिताएको स्रोतले जनायो ।
स्रोतका अनुसार मध्याह्न करिब १२ बजे पुगेको टोली करिब २ बजे बानियाँको घरबाट बाहिरिएको थियो। अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार हेटौंडा–५, पिप्लेस्थित बानियाँ निर्माण सेवा (बीएनएस) कम्पनीको कार्यालयमा पनि विभागको टोलीले छापा मारेको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी उजुरीका आधारमा विभागले अनुसन्धान गरेको बताइएको छ ।
यस्तै मुख्यमन्त्री बानियाँको घरमा पनि विभागका ७ जना सम्मिलित टोलीले छापा मारेको हो । विभागको टोलीले मुख्यमन्त्री बानियाँको घर तथा निर्माण कम्पनीको कार्यालयबाट केही कागजात अनुसन्धानका लागि लगेको अनुसन्धानमा संलग्न ती अधिकारीले जनाए । यद्यपि, उनले ती कागजातको विवरण भने खुलाउन चाहेनन् ।
मुख्यमन्त्री बानियाँले यसबारे कुनै प्रतिक्रिया जनाएका छैनन् । बानियाँ निकट स्रोतका अनुसार बानियाँ संसदीय दलको बैठकमा सहभागी भएको अवस्थामा छापा मारिएको घटनाबारे जानकारी पाएका थिए ।