अरु दल त्यागेको ९० दिन पुगेपछि मात्रै रास्वपाको ‘उम्मेदवार क्लब’का लागि दर्ता हुन पाउने

काठमाण्डु टुडे २०८३ वैशाख २१ गते १५:०७ मा प्रकाशित

काठमाण्डू, २१ वैशाख– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा अन्य दलबाट प्रवेश गरी ९० दिन पुगेका व्यक्ति मात्रै उम्मेदवार क्लबका लागि योग्य हुने गरी विधि बनाइएको छ ।

केन्द्रीय सचिवलायबाट आइतबार पारित ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रुपरेखामा’ अरु दल परित्याग गर्नेहरुको हकमा तीन महिना अवधि पुगेपछि मात्रै उम्मेदवार क्लबमा दर्ता हुनसक्ने उल्लेख छ ।

अन्य दलबाट परित्याग गरेपछि कुलिङ पिरियड तीन महिना तोकिएको छ । कुनै व्यक्तिले पहिलोपटक दलको सदस्य लिएका व्यक्तिको हकमा भने ४५ दिनको अवधि तोकिएको छ ।

रास्वपाबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन इच्छुक व्यक्तिले उम्मेदवार क्लबमा दर्ता भई छनोट प्रक्रियामा भाग लिन सदस्यता लिएको ४५ दिन पुग्नुपर्नेछ । विगतमा कुनै दलमा आवद्दता नभएकाहरुका लागि सदस्यता लिएको ४५ दिनपछि उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुने पाउने छन् । नयाँ सदस्यता लिने र अन्य दल परित्याग गरेर उम्मेदवार हुन चाहनेका लागि कुलिङ पिरियडको व्यवस्था गरिएपनि ल्याट्ररल इन्ट्री हुनेको हकमा भने कुलिङ पिरियड राखिएको छैन ।

समाजका प्रतिष्ठित, विज्ञ, सार्वजनिक रूपमा स्वच्छ छवि भएका वा पार्टीलाई आवश्यक पर्ने विशेष क्षमता भएका व्यक्तिहरूलाई कुलिङ पिरियडको अवधि पूरा नभएपनि ल्याटरल इन्ट्री मार्फत क्यान्डिडेट क्लबमा आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । विशेष व्यवस्था अनुसार उम्मेदवार क्लबमा दर्ता भएकाहरुले पनि कुलिङ पिरियड बाहेकका मापदण्ड पुरा गर्नुपर्नेछ ।

विशेष व्यवस्था अन्तर्गत आवेदन दिने जो–कोही व्यक्तिका लागि पनि पार्टीको लिडरसिप एकेडेमीको प्रशिक्षण तथा उम्मेदवार छनोट प्रक्रियामा सहभागिता अनिवार्य गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us