मन्त्रिपरिषद बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी

काठमाण्डु टुडे २०८३ वैशाख २१ गते ७:२८ मा प्रकाशित

काठमाण्डू, २१ वैशाख– आज (सोमबार) मन्त्रिपरिषद बैठक बस्दैछ । बैठक बिहान साढे १० बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।

आजको मन्त्रिपरिषद बैठकमा मन्त्रालय मर्ज र खारेज सम्बन्धी खाकाबारे छलफल हुने स्रोतले जनाएको छ । सरकारले केही मन्त्रालय खारेज र केहीलाई गाभेर नयाँ नाम कायम गर्नेगरी तयारी अघि बढाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय निकट स्रोतले दिएको जानकारी अनुसार हालका चार मन्त्रालय खारेज हुँदैछन् ।

त्यस्तै, अन्य ६ वटा मन्त्रालयको नयाँ नाम कायम गर्नेगरी काम अन्तिम चरणमा पुगेको छ । ‘४ वटा मन्त्रालय खारेज भएर ६ वटाको नाम फेरिनेछन् । केहीलाई भने हाल रहेका मन्त्रालयबाट छुट्टाएर प्रधानमन्त्री मातहत नै राखिन्छ,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो । त्यस सम्बन्धी खाका आजको मन्त्रिपरिषद बैठकमा पेस हुने एक मन्त्रीले जानकारी दिए ।

मन्त्रालय मर्ज र खारेज सम्बन्धी खाका तयार पार्न सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठित ५ सदस्यीय कार्यदल पनि बनाएको थियो ।

उक्त कार्यदलले संघमा १७ मन्त्रालय रहने प्रस्ताव गरेको थियो । सोही प्रस्तावमा टेकेर सरकारले यस्तो तयारी गरेको स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us