भीरबाट लड्दा खोटाङमा दुई जनाको मृत्यु
खोटाङ, १९ वैशाख — खोटाङको बराहपोखरी गाउँपालिकामा भीरबाट लडेर दुई जनाको ज्यान गएको छ।
बराहपोखरी गाउँपालिका–५ पौवासेराका ५२ वर्षीय बमबहादुर राई र ४० वर्षीय मनीकुमार राईको ढकालेखोला आसपासको अग्लो भीरबाट खसेर घटनास्थलमै मृत्यु भएको हो।
स्थानीय जनप्रतिनिधिका अनुसार बमबहादुर राई अघिल्लो दिन घाँस काट्ने क्रममा हराएको खुकुरी खोज्न शुक्रबार पुनः सोही क्षेत्रमा गएका थिए। उनले छिमेकी मनीकुमार राईलाई साथमा लिएर ढकालेखोला भीरतर्फ गएका थिए।
वडाध्यक्ष फौदराज राईका अनुसार खोजीका क्रममा भीरको अप्ठ्यारो स्थानमा पुगेपछि एक जना चिप्लिएको र बचाउने प्रयासमा अर्को पनि सँगै तानिँदा दुवै जनाले सन्तुलन गुमाएको प्रारम्भिक अनुमान गरिएको छ। त्यसपछि उनीहरू अग्लो भीरबाट तल खसेको स्थानीयवासीको भनाइ छ।
घटनापछि स्थानीयले तत्काल खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुवै जनाको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि उदयपुरको बेलटार पठाउने तयारी गरेको जनाएको छ।