काठमाडौँ, वैशाख १९- रोल्पा जिप दुर्घटनाको तीन दिनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तीन दिनपछि औपचारिक रूपमा दुःख व्यक्त गरेको छ ।
कार्यालयका प्रवक्ता सह–सचिव हेमराज अर्यालले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति सरकारको धारणा सार्वजनिक गरेका हुन् ।
विज्ञप्तिअनुसार २०८३ वैशाख १७ गते दिउँसो करिब २:५० बजे रोल्पा थवाङ गाउँपालिका–१, सल्यापमा भएको जिप दुर्घटनामा २० जनाको ज्यान गएको घटनाले सिङ्गो देश शोकमा परेको उल्लेख गरिएको छ ।
दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहयोगमा तत्काल उद्धार कार्यलाई तीव्रता दिइएको पनि विज्ञप्तिमा जनाइएको छ ।
घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयमार्फत लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिइएको छ । समितिलाई तीन दिनको समय दिइएको र उक्त समयावधि आज सकिन लागेको समेत उल्लेख छ ।
सरकारले छानबिन प्रतिवेदन प्राप्त भएपछि त्यसका निष्कर्ष र सुझावका आधारमा आवश्यक नीतिगत तथा संरचनागत सुधार गर्ने प्रतिबद्धता जनाएको छ ।
साथै देशभर सडक सुरक्षा प्रणाली सुधारमा जोड दिने पनि विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।