आधुनिक विश्वले आफूलाई सरल, सहज र प्रभावकारी ढंगले स्थापना गर्न निरन्तर रुपमा चुनौतीहरू सामना गर्दै आएको छ। यस यात्रामा राजनीति र सामाजिक विकासको विषय एकअर्काको परिपूरकका रूपमा अघि बढेका छन् । राजनीतिक विषयवस्तु केवल सत्ता अभ्यास मात्र नभई समाज सञ्चालनको आधार बनेको हुँदा, समय, प्रविधि र परिस्थिति अनुसार यसको स्वरूप निरन्तर परिवर्तन हुँदै आएको छ। पछिल्लो दशकमा विशेषगरी डिजिटल प्रविधिको तीव्र विकाससँगै राजनीतिक अभ्यास परम्परागत ढाँचाबाट डिजिटल माध्यमतर्फ रूपान्तरण भइरहेको छ।
विश्वव्यापी दृष्टान्तमा डिजिटल राजनीतिको प्रभाव स्पष्ट देखिन्छ। अमेरिकामा २००८ को राष्ट्रपतीय चुनावमा बराक ओबामाले फेसबुक, टुइटर र अन्य डिजिटल माध्यमको प्रयोग गरी युवा मतदातालाई सक्रियतापूर्वक संलग्न गराएका थिए । नेपालमा डिजिटल राजनीतिको इतिहास लामो होइन, तर पछिल्ला केही वर्षमा यसको प्रभाव स्पष्ट रूपमा बढेको छ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा सामाजिक सञ्जालमार्फत राजनीतिक सन्देश फैलाउने र मतदातासँग प्रत्यक्ष संवाद गर्ने अभ्यासले चुनावी रणनीतिमा नयाँ नजिर स्थापना भएको देखिन्छ । अन्य देशमा व्यापक रुपमा चलेको आवाजले नेपालमा पनि प्रभावित रुपमा गति लिदै गयो जस्तै नेपो बेबी, नेपो किडको ट्रेन्डले सामाजिक सञ्चालनमा राम्रो चर्चा पायो र Gen-Z आन्दोलनमा परिणत भयो । सामाजिक सञ्चालनमाथि लगाइएको प्रतिबन्धको विरोधबाट सुरु भएको आन्दोलन देखि निर्वाचनको परिणामसम्मको समय अवधी पनि डिजिटल राजनीतिको उदाहरण हो ।
भर्खरै सम्पन्न निर्वाचनमा , राजनीतिक दलको एजेन्डादेखि उम्मेदवारको घोषणापत्रसम्म ब्यानर र कागजबाट रुपान्तरण भई डिजिटल प्रविधिबाट व्यापक रूपमा प्रचारप्रसार गरेको हामीले देख्यौ , अझ पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको टिकटकद्वारा चुनावी प्रचारप्रसारले नेपाली परम्परागत राजनीतिलाई डिजिटल रूपान्तरण दिएको भन्ने कुरा दर्शाउन सक्छ। यस्ता सबै गतिविधिले अबको नेपाली राजनीतिलाई डिजिटल युगमा प्रवेश गराइसकेको छौँ भन्ने कुरा हामीले अनुभूति गर्न सक्छौं ।
डिजिटल माध्यमले नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गर्न, नेताहरूका वचनपत्र र कार्ययोजनालाई व्यापक जनसमुदायसम्म पुर्याउन, साथै तत्काल प्रतिक्रियासँग सम्बन्धित रणनीति निर्माण गर्न मद्दत गरेको छ। सामाजिक सञ्जालले राजनीतिक सहभागिता मात्र होइन, जनसुझाव र आलोचनालाई पनि छरितो र प्रत्यक्ष रूपमा समेट्ने अवसर दिएको छ , तर डिजिटल राजनीतिको प्रयोगले मात्र परिणाम सुनिश्चित हुँदैन । ग्रामीण, दुर्गम र कम पहुँच भएका क्षेत्रका नागरिकहरू अझै डिजिटल साक्षरताबाट पूर्ण लाभान्वित भएका छैनन् । यसकारण कतिपय स्थानमा डिजिटल माध्यमको प्रभाव अधिक देखिएको छ भने अन्य क्षेत्रमा फरक नतिजा आउन सक्ने सम्भावना रहन्छ। साथै, डिजिटल माध्यममा प्रस्तुत विचारहरू सबै समयमा यथार्थपरक वा विश्वसनीय नहुन सक्छन् ।अतिरञ्जित प्रचार र भ्रामक सूचनाले जनधारणालाई गलत दिशामा लग्न सक्छ।
यसैले प्रभावकारी र समावेशी राजनीति निर्माणका लागि डिजिटल र परम्परागत दुवै माध्यमबीच सन्तुलन कायम गर्नु अत्यावश्यक छ। वास्तविक राजनीतिमा जनतासँग प्रत्यक्ष भेटघाट, स्थानीय अवस्था बुझ्ने क्षमता, जनताको समस्या सुन्ने प्रवृत्ति र व्यवहारिक समाधान प्रस्तुत गर्ने दक्षता उत्तिकै आवश्यक हुन्छ।
डिजिटल माध्यमले द्रुत सूचना र व्यापक पहुँचको अवसर दिएको भए पनि जनताको जीवनसँग प्रत्यक्ष सम्पर्क र वास्तविक संवेदनशीलता बिना राजनीति अधुरो रहन्छ। यदि डिजिटल माध्यमलाई मात्र चुनावी उपकरण वा प्रचारको साधन बनाइन्छ भने लोकतन्त्र कमजोर हुन सक्छ। यसको सन्तुलित प्रयोगले मात्र लोकतन्त्रलाई बलियो, उत्तरदायी र जनमुखी बनाउन सकिन्छ ।
समग्रमा, डिजिटल राजनीति आधुनिक युगको अपरिहार्य यथार्थ हो, जसले राजनीतिक प्रक्रियालाई छरितो, पारदर्शी र पहुँचयोग्य बनाएको छ तर यसको सही प्रयोग गर्दै परम्परागत राजनीतिक अभ्याससँग सन्तुलन कायम गर्नु नै नेपालको लोकतन्त्रलाई सुदृढ, उत्तरदायी र समावेशी बनाउने मुख्य उपाय हो ।
डिजिटल राजनीतिको विधिशास्त्रलाई समयानुकूल, उत्तरदायी, नैतिक र सन्तुलित रूपमा विकास गर्नु आजको आवश्यकता हो, ताकि प्रत्येक नागरिकको आवाज सुन्न सकियोस् र लोकतन्त्रको वास्तविक रूपले संरक्षण गर्न सकियोस् ।