जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाण्डूमा मृत्यु

काठमाण्डु टुडे २०८३ वैशाख ८ गते १४:४० मा प्रकाशित

काठमाण्डू, ८ वैशाख– जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

गत चैत २९ गते आइतबार बिहान ग्यास सिलिन्डर लिक भई स्थानीय ठालुप्रसाद जैसीको घरमा आगलागी हुँदा तीन जना घाइते भएका थिए । घाइते भएकामध्ये ठालुप्रसादकी ४२ वर्षीया श्रीमती माया जैशीको काठमाण्डूस्थित कीर्तिपुर जलन अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोट सूचना अधिकारी एक्कबहादुर नेपालीले जानकारी दिएका छन ।

आगलागीमा परी घाइते भएका अन्य दुई जना रुपा जैशी र ठालुप्रसादका छोरा गणेश गौतमको काठमाण्डूमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

घाइते उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी नेपालगन्ज पुर्याइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डू लगिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us