रास्वपा बैठकमा गृहमन्त्री सुधन गुरूङबारे भएन छलफल

काठमाण्डु टुडे २०८३ वैशाख ७ गते २१:२९ मा प्रकाशित

काठमाण्डू, ७ वैशाख- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सोमबार बसेको केन्द्रीय समिति बैठकमा गृहमन्त्री सुधन गुरूङबारे भइरहेका चर्चा र विवादबारे प्रसंग नै उठेन ।

केन्द्रीय कार्यालय चःमतिमा बसेको बैठमा २० केन्द्रीय सदस्यले रिपोर्टिङ प्रस्तुत गरेका थिए । तर, कसैले पनि गृहमन्त्रीबारे आएका सामाचारहरुबारे प्रश्न नगरेको एक नेताले जानकारी दिए । त्यसको पुष्टि प्रवक्ता मनिष झाले पनि गरेका छन् ।

उनले मन्त्री गुरुङबारे छलफलको एजेण्डा नै नरहेकाले कुराकानी नभएको बताए । बैठकपछि सञ्चारकर्मीले झालाई गुरुङमाथि लागेका आरोपबारे सोधेका थिए । त्यसबारे कुनै प्रस्ताव, छलफल, निष्कर्ष र निर्णय नभएको उनको भनाइ थियो । कसैले पनि रिपोर्टिङमा त्यसको कुरा नउठाएको झाले बताए ।

‘कसैले रिपोर्टिङमा उठाउनुभएको भए नेता तथा पदाधिकारी यसको जवाफ दिनका लागि जिम्मेवार हुनुपर्थ्यो । प्रसंग नआउँदै गर्दा सम्भवतः आवश्यक छलफल बाँकी छ, समय बाँकी छ । अहिलेका लागि यसलाई प्रस्तावका रूपमा भन्दा पनि छलफल बाँकी नै छ भन्नेमा लिऔं, यसमा प्रश्न उठाउन नपाइने भन्ने होइन’, उनले भने, ‘नेताहरूसँग सुझबुझ, प्रक्रिया र यसअघि गरिएका नजिर पनि छ । हिजो नै पार्टी सभापतिले अहिले नै मूल्यांकन गरेर निष्कर्षमा पुग्ने समय आएको छैन है भनेर बोल्नुभएको छ ।’

सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका व्यवयासी दीपक भट्टसँग कनेक्सन देखिएको तथा भट्ट संलग्न रहेका कम्पनीमा सेयर रहेको समाचार बाहिरिपछि गृहमन्त्रीलाई बर्खास्त गरी कारबाही गर्नुपर्ने आवाज उठेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us