काठमाण्डू, ७ वैशाख– गत १२ चैतमा पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बूढानीलकण्ठस्थित निवासमा क–कसलाई मन्त्री बनाउने भन्नेबारेमा गोप्य बैठक भएको थियो ।
पार्टी उच्च तहका केही नेताहरूसहित मुख्य गरी रवि लामिछाने र वालेन्द्र शाह गोप्य छलफलमा जुटेका थिए । यसअघि नै पार्टी चलाउन आफूले हस्तक्षेप नगर्ने र सरकार चलाउन आफूलाई सहज वातावरण बनाइदिनुपर्ने अडान लिएका थिए बालेनले । उनैले केही सम्भावित मन्त्रीहरूको नाम पनि ‘फ्लोर’ गर्दा मन्त्री बन्ने ‘बालेन सूचीमा’ सुधन गुरुङको नाम प्राथमिकतामा राखियो ।
छलफलमा सहभागी एक उच्च तहका नेताका अनुसार रविले सुरुमै गुरुङलाई मन्त्री बनाउन नहुने र उनको विकल्पमा अरुको नाम लिन भने पनि बालेनले अडान लिन नछोडेको रास्वपा स्रोतको भनाइ छ । त्यतिबेला बालेनले गृहमा दुई सांसदको नाम लिएका थिए । उनले लिएका नामहरूमा गोरखा १ बाट निर्वाचित सांसद सुधन गुरुङ र रुपन्देही १ बाट निर्वाचित सांसद सुनील लम्साल थिए ।
गुरुङ जेन–जी आन्दोलनपछि चर्चित पात्र हुन् । उनी २३ भदौमा भएको पहिलो दिनको जेन–जी आन्दोलनमा माइतीघरमा पानी बाँड्ने स्वयंसेवकको भूमिकामा थिए । तर, त्यसपछिका घटनाक्रममा एकाएक चर्चाको शिखरमा पुगे उनी । रवि–बालेनसँगै कुलमान घिसिङलाई पनि रास्वपामा मिलाउने क्रममा गुरुङले भूमिका खेलेका थिए ।
त्यो बेलै २४ मंसिर २०८२ मा बालेनले गुरुङको तस्वीर पोस्ट गर्दै लेखेका थिए– ‘बाबु सुधन गुरुङज्यूले जुन भूमिका निर्वाह गर्नुभएको छ, त्यो यो देशले एक सय वर्षसम्म पनि बिर्सने छैन ।’ बालेन–सुधनको सम्बन्ध कति गहिरो छ भन्ने कुरा उक्त पोस्टले नै दर्शाउँछ । लम्साल भने बालेन काठमाण्डूको महानगर प्रमुख हुँदै उनीनिकट रहेका व्यक्ति हुन् । उनीहरू उच्च शिक्षा अध्ययनका क्रममा ‘क्लासमेट’ समेत हुन् । रास्वपा स्रोतका अनुसार बालेन लम्साल वा गुरुङलाई गृहमन्त्री बनाउन चाहन्थे ।
तर, रास्वपा सभापति लामिछाने भने आफ्ना उपसभापतिसमेत रहेका सहकर्मी डीपी अर्याललाई गृहमन्त्री बनाउन चाहन्थे । गृहमा लम्साल र गुरुङको नाम आउँदा लामिछानेले पटक–पटक ‘हुन्न–हुन्न’ भनेको पार्टी स्रोतको भनाइ छ । तर, जब बालेनले अडान लिए, अनि लामिछाने लचिलो बने र लम्साल या गुरुङमध्ये एकलाई गृहमन्त्री बनाउनैपर्ने दबाबमा रहे ।
यी दुई नाममध्ये पनि लामिछानेले आफूलाई समेत सहज हुने नाम रोजे । लम्साल गृहमन्त्री हुँदा बालेनसँग मात्रै उत्तरदायी हुने बरु गुरुङ गृहमन्त्री भए पार्टी नेतृत्वसँग पनि उत्तरदायी हुने बुझेर उनले गृहमा गुरुङको नाम सदर गरिदिए । १३ चैतमा राष्ट्रपति निवासमा मन्त्रीको नाम पठाउनुपर्थ्यो । तर, अन्तिम समयमा पनि कसैको नाम पुगेन । बालेन आफैँले नाम लिएर आउने भनेपछि मन्त्रीले शपथ लिने केही समयअघि मात्रै जानकारी दिइएको थियो । राष्ट्रपति कार्यालयले शपथको केही मिनेटअघि मात्रै नाम थाहा पाएको थियो ।
गोप्य राखिएको नामको वरीयताका बारेमा पनि रास्वपा नेताहरू रवि–बालेनले प्रसंग नउठाएका भने होइनन् । तर, यसबारे बालेनले ‘म मिलाउँछु’ भन्दै हतारहतार मन्त्री र मन्त्रालयबारे लेखिएको कागज गोजीमा राखेर फटाफट हिँडेको रास्वपा स्रोतको भनाइ छ । ‘यसअघि मन्त्री भइसकेका शिशिर खनाल र विराजभक्त श्रेष्ठको नाम माथि नै हुन्छ भन्नेमा सभापति ढुक्क हुनुहुन्थ्यो,’ रास्वपाका ती नेताले भने, ‘तर, जब राष्ट्रपति कार्यालयमा बुझाएको नाम हेरियो, छक्क परियो ।
पहिले मन्त्री भएका तल छन्, सुधन माथिल्लो वरीयतामा ।’ मन्त्रीहरूले वरीयताक्रमबारे असन्तुष्टि पोखेका थिए । उनीहरूले प्रधानमन्त्री शाहलाई नभने पनि सभापति लामिछानेलाई भने गुनासो गरिरहे । नभन्दै सुधनको वरीयता ३ नम्बरबाट ५ नम्बरमा झारियो । सुधनको कार्यशैलीबारे पनि पार्टीभित्रै प्रश्न उठेको थियो ।
विशेष गरी प्रधानमन्त्रीसँग छलफलमा पुगेका रास्वपा सांसदहरूले नै गृहमन्त्रीको शैली उचित नभएको र यसले हानि गर्न सक्ने भन्दै चेतावनी दिएका थिए । तर, प्रधानमन्त्रीले सांसदको जवाफ सुने पनि गृहमन्त्रीबारेको गुनासोमा कुनै टिप्पणी नदिएको रास्वपा सांसदहरूले नै प्रतिक्रिया दिएका थिए ।
मुख्य रूपमा पार्टीभित्र सुधनले गृह प्रशासन चलाउन नजानेको र क्षेत्राधिकारबाहिर गएको गुनासो पुगेको थियो । उनले अनुसन्धान चल्दै गरेको विषयलाई सामाजिक सञ्जालमार्फत लेख्दा होस् वा सडकमा पुगेर चिनियाँ ठेकेदारलाई चेतावनी शैलीमा कुरा गर्दा होस्, आफ्नो मर्यादाबाहिर गएर काम गरेका थिए । त्यस्तै, भारतीय बजारबाट १ सय रुपैयाँभन्दा बढीको सामान किनेर ल्याउँदा प्रहरीले रोक लगाएको विषयमा पनि गृहमन्त्रीको आलोचना भएको छ ।
रास्वपा सांसदहरूले सीमा क्षेत्रमा पछिल्लो समय देखिएको बढ्दो तनाव सार्वजनिक भइरहँदा गृहमन्त्रीले अनावश्यक सर्कुलर जारी गरी प्रहरीलाई दबाबमा राखेको बुझिएको छ । अहिले विवादित र अनुसन्धानको दायरामा रहेका व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी रहेको तथ्य बाहिरिएपछि रास्वपाभित्रै गृहमन्त्री गुरुङको राजीनामाको माग उठेको छ ।
आजै पूर्वघोषित केन्द्रीय समितिको बैठक बस्ने तयारी छ भने उक्त बैठकमा सुधनको विषयमा पनि छलफल हुने सहमहामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।