पत्रकारिता क्षेत्रले बौद्धिक आलोचना गरोस्, गहिरो प्रश्न उठाओस्ः रास्वपा सचेतक धिताल

काठमाण्डु टुडे २०८३ वैशाख ६ गते ११:३७ मा प्रकाशित

काठमाण्डू, ६ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले पत्रकारिता क्षेत्रले बौद्धिक आलोचना गर्नुपर्ने तर्क गरेकी छन । सचेतक धितालले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो बताएकी हुन ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन, ‘म चाहन्छु कि पत्रकारिता क्षेत्रले अझ बढी बौद्धिक रूपमा आलोचना गरोस्, अझ गहिरो प्रश्न उठाओस्, ‘मुख्यधार मिडिया र सूचना प्रवाह गरिरहेका अन्य युट्युब च्यानलहरूबीच देखिएको दूरी पनि प्रश्नको स्तरले नै घटाउन र बढाउन सक्छ । प्रश्न गर्ने स्तर उकास्नुहोस् ।’

केही युट्युब च्यानलहरू आफैं मुख्यधारका मिडियासँग प्रतिस्पर्धामा उभिएको र आवश्यक परे त्यहाँबाट पनि सिक्न सकिने उनले बताएकी छन् । उनी भन्छिन्, ‘हामी त्यस्ता प्रश्नहरूको जवाफ दिन तयार छौं र आवश्यक तयारीका साथ उभिनेछौं ।’ सामाजिक सञ्जालमा महिलाको हिँडाइ, हाँसो वा प्रस्तुतिलाई वस्तुकरण गर्ने प्रवृत्ति अलि धेरै नै रहेको भन्दै उनी अगाडि लेख्छिन्, ‘राम्रो नियत हुँदाहुँदै पनि यस्ता अभ्यासहरूले अन्ततस् त्यही संस्कारलाई बलियो बनाउने त हो, जसविरुद्ध हामी उभिदै आयौ ।’

मिडिया सूचना दिने माध्यम मात्रै नभएर समाजको चेतना निर्माण गर्ने शक्ति पनि भएकाले यो शक्तिलाई जिम्मेवार, संवेदनशील र रूपान्तरणमुखी बनाउन अपरिहार्य रहेको पनि बताएकी छन ।

पत्रकारिता पृष्ठभूमिबाट आएको नाताले मिडिया समुदायप्रति आफ्नो सधैं सम्मान र आत्मीयता रहँदै आएको उल्लेख गर्दै उनले केही प्रवृत्तिहरूप्रति स्पष्ट रूपमा बोल्न आवश्यक ठानेर यो विषय उठाएको बताएकी छन् ।

विशेषगरी, युवा महिलाहरूसँग प्रश्न राख्दा ‘राम्री हुनुहुन्छ, चिटिक्क परेर आउनु भएको छ’ जस्ता टिप्पणीबाट संवाद सुरु गर्ने अभ्यास देखेको भन्दै उनले यो व्यक्तिगत टिप्पणी नभएर संरचनागत रूपमा महिलालाई विषयवस्तुबाट हटाएर रूपमा सीमित गर्ने प्रवृत्ति भएको बताएकी छन् ।

समानता, सम्मान र अर्थपूर्ण प्रतिनिधित्वका लागि निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै उनले बाह्य रूपलाई केन्द्रमा राख्ने भाषाले खास आवाजलाई कमजोर पार्ने, मुद्दालाई ओझेलमा पार्ने र सार्वजनिक बहसको स्तरलाई घटाउने बताउँछिन् ।

उनले पत्रकारहरूलाई भनेकी छन्, ‘तपाईंले बोक्नु भएको माइक विचार बोक्ने माध्यम हो, सौन्दर्यको मूल्यांकन गर्ने होइन । सौन्दर्यका लागि अन्य थुप्रै प्लेटफर्म छन् । त्यसैले कुन ठाउँमा कस्तो प्रश्न गर्ने भन्नेमा सजग र जिम्मेवार हुनुहोस् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us