ओलीलाई काउण्टर गर्दै विष्णु पौडेलले फेसबुकमा लेखेः पार्टी पुनर्गठन रोक्न वाम एकताको असान्दर्भिक चर्चा चलाइयो

काठमाण्डु टुडे २०८३ वैशाख ५ गते १८:४८ मा प्रकाशित

bishकाठमाण्डू, ५ वैशाख– एमाले उपाध्यक्ष विष्णु पौडेले वाम एकताको हल्ला चलाइएकामा आपत्ति जनाएका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत पौडेलले यथार्थबाट अन्यत्र ध्यान मोड्न वामपन्थी एकताको चर्चा चलाइएको बताएका हुन् ।

पछिल्लो समय अध्यक्ष केपी ओली नै वाम एकताको पक्षमा छन् ।

ओलीले केही दिनअघि मात्र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई आफू उपचाररत त्रिवि शिक्षण अस्पताल बोलाएर नेकपाको एकता जोगाउन नसक्नु गल्ती भएको भन्दै फेरि मिलेर अघि बढ्न प्रस्ताव गरेका थिए ।

पौडेलको भनाइ अस्पतालबाट वाम एकताका लागि ओलीले गरिरहेको कसरततर्फ लक्षित छ ।

पौडेलले पर्दाभित्रबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा चलाइएको टिप्पणी गरेका छन् । उनले एकता नभई पार्टी पुनर्गठनको आवाज बलियो बन्दै गएको बताए ।

‘यथार्थबाट अन्यत्र ध्यान मोड्ने गरी पर्दा भित्रबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा कस्ले, किन चलाइरहेका हुन् ?’ पौडेलले प्रश्न गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us