अदालतको निर्णय जित–हारको होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय होः गगन थापा

काठमाण्डु टुडे २०८३ वैशाख ५ गते १२:३५ मा प्रकाशित

काठमाण्डू, ५ वैशाख– कांग्रेस सभापति गगन थापाले सर्वोच्च अदालतको निर्णय जित हारको विषय नभको बताएका छन् ।

आफू नेतृत्वको काँग्रेसलाई सर्वोच्चले वैधता दिएपछि शनिबार पहिलोपटक सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले पार्टी एकताबद्ध भएर अघि बढ्ने वातावरण बनेको दाबी गरे ।

अदालतको निर्णय जित–हारको विषय नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय भएको उनको भनाइ थियो ।

‘सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ,’ थापाले भनेका छन्, ‘यो कुनै जित–हारको विषय होइन । विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो ।’

थपाले स्वदेश तथा विदेशमा रहेका पार्टी सदस्य र शुभेच्छुकले आ–आफ्नो ठाउँबाट अझ जिम्मेवारीका साथ पार्टी एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका खेल्नेछन् भन्ने विश्वास आफूले लिएको पनि थापाले बताए ।

पार्टी सभापतिको हैसियतले सबैभन्दा ठूलो जिम्मेवारी मेरो आफ्नै भएकामा स्पष्ट रहेको र त्यसअनुसार सक्रिय रूपमा लाग्ने प्रतिबद्धता उनले जनाए ।

पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको भन्दै थापाले महाधिवेशनलाई पार्टी रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्न अपिल गरे ।

अग्रजहरूको योगदानको सम्मान तथा नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न र समुन्नत नेपाल बनाउन योगदान दिन सक्ने पार्टी बनाउन सबै एक ढिक्का भएर अघि बढ्नुपर्नेमा थापाले जोड दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us