काँग्रेस महामन्त्रीद्वयको अपिलः सर्वोच्चको फैसलालाई जितहारका रुपमा नलिऔं

काठमाण्डु टुडे २०८३ वैशाख ५ गते ११:४६ मा प्रकाशित

काठमाण्डू, ५ वैशाख–काँग्रेस महामन्त्रीद्वय प्रदीप पौडेल र विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको फैसलालाई जितहारका रुपमा नलिन पार्टी पंक्तिलाई अपिल गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनीहरुले अदालतको फैसलाको स्वागत गर्दै कसैको जित र कसैको हार नभएको बताएका हुन् ।

सर्वोच्च अदालतले शुक्रबार काँग्रेसको विशेष महाधिवेशन र उक्त महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वैधता प्रदान गरेको थियो ।

पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता नदिन माग गर्दै दायर रिट शुक्रबार सर्वोच्चले खारेज गरेसँगै थापा नेतृत्वको समितिले काँग्रेसको वैधता पाएको हो ।
महामन्त्री पौडेलले अदालतको फैसलालाई एउटाको जित वा अर्काको हारका रूपमा व्याख्या गरेर पार्टी एकता खल्बलिने वातावरण आउन नदिन सबै सचेत र सजग हुनुपर्ने बताएका छन् । ‘फैसला कसैका लागि पनि हार वा जितको विषय हुनुहुँदैन ।एउटाको जित वा अर्काको हारका रूपमा व्याख्या गरेर पार्टी एकता खल्बलिने वातावरण आउन नदिन हामी सबै सचेत र सजग हुनु अहिलेको अवस्थामा अनिवार्य आवश्यकता हो’, महामन्त्री पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

यस्तै अर्का महामन्त्री गुरुराज घिमिरेले सर्वोच्चले पार्टीको आधिकारिकताबारेको विवादमा गरेको फैसला न्यायपूर्ण भएको बताए । सर्वोच्चको फैसलालाई कांग्रेसका सदस्यले आजसम्म देशमा विधि र पद्धतिका लागि अनवरत गरेको संघर्षको प्रतिफल भएको टिप्पणी गरेका छन् ।

‘यस निर्णयले सबैको आत्मसम्मान र योगदानको कदर गरेको छ । यो कसैको हार वा जित होइन ।अब हामी नेपाली कांग्रेसका सबै साथी एकताबद्ध भई पार्टीको १५औं महाधिवेशनलाई उत्साह र एकताका साथ सम्पन्न गर्न केन्द्रित हुनुपर्र्छ’, उनले भनेका छन् ।

विगतका सम्पूर्ण वादविवादलाई विस्मृतिमा राखेर कांग्रेसको एकतालाई सुदृढ पार्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us