काठमाण्डू, ३ वैशाख– प्रतिनिधि सभा अन्तर्गतका ९ र १ संयुक्त (प्रतिनिधि सभा र राष्ट्रिय सभा)का विषयगत समितिका सभापति बिहीबार निर्विरोध हुने भएका छन् ।
समिति सभापतिमा निर्विरोध हुनेमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ९ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एक सांसद छन् । समितिको सभापतिमा मनोनयनका लागि बिहीबार दिउँसो १ बजेदेखि ४ बजेसम्मको समय तोकिएको थियो ।
त्यो समयमा १० समितिमा एकरएक जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध भएका हुन् । प्रतिनिधि सभाको चैत २७ गतेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले सबै समितिमा रहने सदस्यहरूको नाम बाचन गर्दै सभापतिको निर्वाचन बैशाख ४ गते (भोलि)का लागि तोकेका थिए ।
सबै समितिमा एकरएक जनाको मात्रै उम्मेदवारी परेकाले भोलि बस्ने समितिका बैठकले निर्विरोध भएको घोषणा गर्न मात्रै बाँकी हुने भएको हो । २७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको सहज बहुमत छ । उसका १८२ सांसद छन् र सबै समितिमा उसका बहुमत सांसद् छन् ।