काठमाण्डू, ३ वैशाख– ललितपुर महानगरपालिका–४ बागडोलबाट सुन–चाँदीका गरगहना चोरी गर्ने र खरिद गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
चोरीको अभियोगमा काठमाण्डू महानगरपालिका–२१ बस्ने ३२ वर्षीय अमन देउला र चोरीका गरगहना खरिद गरी गाल्ने कार्यमा संलग्न काठमाण्डू महानगरपालिका–२३ बस्ने अर्पिता ज्वेलर्सका सञ्चालक भारत पश्चिम बंगाल घर भएका ४७ वर्षीय स्वपन चक्रवर्तीलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
गत २६ चैत दिउँसो उक्त स्थानबाट करिब ७९ लाख १२ हजार ५ सय २ रूपैयाँ बराबरको गरगहना चोरी भएको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमनलाई ललितपुर महानगरपालिका–४ बाट र स्वपनलाई उनकै पसलबाट पक्राउ गरेको हो ।
साथै प्रहरीले स्वपनको पसलबाट सुन तथा चाँदीको जस्तो देखिने विभिन्न गरगहना समेत बरामद गरेको छ । जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।