संसदीय समिति सभापतिबारे निर्णय लिन कांग्रेस, एमाले र नेकपाको संयुक्त बैठक सुरु

काठमाण्डु टुडे २०८३ वैशाख ३ गते १३:२२ मा प्रकाशित

काठमाण्डू, ३ वैशाख– संसदीय समितिका सभापतिको उम्मेदवारबारे छलफल गर्न प्रतिपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ । संसदीय समितिका सभापतिको उम्मेदवारबारे छलफल गर्न विपक्षी दलहरु नेपाली कांग्रेस, एमाले र नेकपा संयुक्त बैठक बसेका हुन् ।

बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा विपक्षी दलका नेताहरु अर्जुननरसिंह केसी, युवराज दुलाल, गुरुप्रसाद बराल, भीष्म आङदम्बेलगायत सहभागी रहेको स्रोतले जानकारी दिएको छ ।

बैठकले संसदीय समितिको सभापतिमा उम्मेदवारी दिने–नदिनेबारे निर्णय लिनेछ । ‘उम्मेदवारी दिऔं । जीतरहार स्वाभाविक छ’, संयुक्त छलफलमा रहेका एक नेताले भने । आज संसदीय समितिको सभापतिहरूमा मनोनयन दर्ता हुँदैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय छ ।

मनोनयन दर्ताका दर्ता सिंहदरवारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुनेछ । आजै दिउँसो साढे ४ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ । संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् ।

प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् । राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन यसअघि नै भइसकेको छ । प्रतिनिधिसभा अन्तर्गतका १० वटा र संयुक्त दुई वटा समिति सभापतिको निर्वाचन हुन बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us