सुरेन्द्र पाण्डेको प्रश्नः वामपन्थी एकता स्वार्थपूर्तिका लागि ?

काठमाण्डु टुडे २०८३ वैशाख ३ गते १२:४९ मा प्रकाशित

काठमाण्डू, ३ वैशाख– एमालेका नेता सुरेन्द्र पाण्डेले वामपन्थी एकताको औचित्यमाथि प्रश्न गरेका छन । यसअघिको एकताको स्मरण गर्दै एमाले नेता पाण्डेले फेरि पनि वामपन्थी एकताको बहस चलेको भन्दै त्यसमाथि प्रश्न गरेका हुन ।

नेता पाण्डेले यसअघि एमाले र तत्कालीन माओवादीबीचको एकतालाई पद प्राप्ति र व्यक्तिगत स्वार्थका रुपमा टिप्पणी गर्दै अब केका लागि एकता गर्ने भन्ने प्रश्न गरेका हुन । ‘हाम्रा कतिपय कमरेडहरू नेतृत्वमाथि संकट आइलाग्यो भन्दै फेरि पनि ‘वाम एकता’ को दौडधुपमा हुनुहुन्छ’, उनले प्रश्न गरेका छन्, ‘हिजो पद प्राप्तिका लागि एकता गरियो, आज सायद आफ्नो गुम्दो अस्तित्व जोगाउन ।

तर, पार्टी एकता स्पष्ट विचार र सिद्धान्तका लागि गर्ने कि केही सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि ?’ उनले अहिले एकता भन्दा पनि एमालेलाई कसरी एकताबद्ध राख्ने भन्नेबारेमा सोच्न जरुरी भएको पनि बताएका छन ।

विचार र निश्चित गन्तव्य विनाको एकताको अर्थ नहुने बताउँदै उनले अहिले पार्टीको पुनार्निर्माण गर्दै क्षमतावान र दक्ष व्यक्तिहरू, विशेषगरी युवाहरूलाई पार्टीमा भित्र्याउन आपश्यक भएको पनि बताएका छन । उनले भनेका छन, ‘विगतमा वैचारिक आधारबिना गरिएको एकताको तीतो परिणाम हामीले भोगिसकेका छौं ।

हिजो मौन बस्नु हाम्रो गल्ती थियो, तर आज पनि नबोल्नु गम्भीर मूर्खता हुनेछ’, उनले लेखेका छन्, ‘एमाले लाई अब सत्ता र स्वार्थको जोडघटाउ होइन, विधि, सुशासन र परिणाममुखी नेतृत्वसहितको नयाँ मार्गमा अघि बढाउने आँट हामीले गर्नैपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us