काठमाण्डू, ३ वैशाख– कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ । कांग्रेसका सांसद भिष्मराज आङदाम्बेले लेखा समितिमा कांग्रेसले उम्मेदवारी दिने जानकारी दिए । ‘लेखा समितिमा हाम्रो उम्मेदवारी रहन्छ’ आङदाम्बेले भने, ‘बाँकी समितिको हकमा विपक्षी दलहरूसँग सल्लाह हुँदैछ ।’
संसदीय समितिका सभापतिको उम्मेदवारी दिने वा नदिने भनेर विपक्षी दलहरू छलफलमा पनि जुट्दैछन् । सिंहदरवारमा दिउँसो १२ बजे विपक्षी दलका नेताहरूको संयुक्त छलफल छ ।
त्यसले उम्मेदवारी दिने वा नदिने र उम्मेदवारी दिँदा कुन समितिमा कसलाई उम्मेदवार बनाउने भनेर तय गर्नेछ । नेपाली कांग्रेसबाट मोहन आचार्य र भिष्मराज आङदाम्बेले अन्य विपक्षी दलहरूसँग संवाद गरिरहेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र युवराज दुलाल दलहरूसँग संवादमा छन् । संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय छ ।
मनोनयन दर्ताका दर्ता सिंहदरवारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुनेछ । आजै दिउँसो साढे ४ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ । संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् ।
प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् । राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन यसअघि नै भइसकेको छ । प्रतिनिधिसभा अन्तर्गतका १० वटा र संयुक्त दुई वटा समिति सभापतिको निर्वाचन हुन बाँकी छ ।