कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

काठमाण्डु टुडे २०८३ वैशाख ३ गते १२:०५ मा प्रकाशित

काठमाण्डू, ३ वैशाख– अवैध रूपमा कम्बोडियामा बसेका ४६ जना नेपालीलाई थाइल्याण्डस्थित नेपाली राजदूतावासले स्वदेश फिर्ता गरेको छ । दूतावासले ३० चैत र १ वैशाखमा कम्बोडियाबाट उद्धार गरिएका नेपालीलाई स्वदेश फिर्ता गरेको हो ।

प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेर अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ्ग केन्द्र, क्यासिनोमा अनलाइन ठगी र अन्य विभिन्न गैरकानुनी काममा लगाइएका र कम्बोडियामा बिनाभिसा बसिरहेका ४६ जना नेपालीको उद्धार गरिएको दूतावासले जानकारी दिएको छ । दूतावासले कम्बोडियामा अलपत्र परेका अन्य नेपालीहरूलाई पनि स्वदेश फर्काउने पहल भइरहेको जनाएको छ ।

‘कम्बोडियामा नेपाली नागरिकहरू अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको र बिनाभिसा वा भिसा अवधिभन्दा बढी समय बसिरहेको जानकारी प्राप्त भएको छ,’ दूतावासले भनेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us