०६२ सालयताका प्रधानमन्त्री, मन्त्री र उच्च कर्मचारीका सम्पत्ति छानबिन गर्न आयोग गठन

काठमाण्डु टुडे २०८३ वैशाख २ गते २०:०६ मा प्रकाशित

काठमाण्डू, २ वैशाख-२०६२\०६३ देखि हालसम्म सार्वजनिक पद धारण गरेका राजनीतिक तथा उच्च प्रशासनिक नेतृत्वको सम्पत्ति छानबिनका लागि सरकारले अधिकार सम्पन्न सम्पत्ति जाँचबुझ आयोग गठन गरेको छ ।

बुधबारको मन्त्रिपरिषद बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको नेतृत्वमा आयोग गठन गरेको हो ।

पाँच सदस्यीय सम्पत्ति जाँचबु आयोगमा सर्वोच्चका पूर्वन्यायाधीशहरू पुरूषोत्तम पराजुली र चण्डीराज ढकाल तथा नेपाल प्रहरीका पूर्वडिआईजी गणेश केसी र चार्टर्ड अकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार आयोगलाई सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी र उच्चपदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण तथा छानबिन गर्ने कार्यादेश दिइएको छ ।
वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारले यसअघि सार्वजनिक गरेको शासकीय सुधारका १०० कार्यसूचीमा २०४८ यता राजनीतिक र प्रशासनिक नेतृत्वमा रहेकाहरुको सम्पत्ति छानबिन गर्न अधिकार सम्पन्न आयोग गठन गर्ने उल्लेख थियो ।
दोस्रो चरणमा २०४८ देखि ०६२ सम्म नेतृत्वमा रहेकाहरुको सम्पत्ति छानबिन गर्ने तयारी सरकारको छ ।

आयोगलाई आवश्यक कागजात, विवरण तथा अभिलेख संकलन, विश्लेषण तथा सिफारिस गर्ने लगायतका अधिकार दिइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us