नयाँ वर्षमा ओलीको सन्देशः २०८२ अब इतिहास भयो

काठमाण्डु टुडे २०८३ वैशाख १ गते ९:४४ मा प्रकाशित

काठमाण्डू, १ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सुरक्षित र समृद्ध नेपाल निर्माणका लागि पाकाका अनुभव र नयाँ पुस्ताको युवा ऊर्जाबीच सार्थक सहकार्य (सिनर्जी) हुनुपर्ने बताएका छन ।

आज (मंगलबार) नयाँ वर्ष २०८३ को अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै पूर्व प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

ओलीले अघिल्लो वर्षका सफलता र विफलतालाई इतिहासको जिम्मा छाड्दै विगतको समीक्षा र भविष्यको आकलन गरेर अघि बढ्नुपर्ने समेत बताएका छन । उनले भने, ‘सफलता या विफलता, अवसर या चुनौती, कमजोरी होउन् वा उपलब्धि २०८२ अब इतिहास भयो,’ ओलीले फेसबुकमा लेखेका छन्, ‘इतिहासको समीक्षा गर्दै र भविष्यलाई नियाल्दै, नयाँ वर्ष २०८३ ले सुरक्षित र समृद्ध नेपालका लागि ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’ बीचको एक सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् ।’

२०८२ सालमा पुराना दल र नेतृत्वप्रति असन्तुष्टि जनाउँदै युवा पुस्ताको आन्दोलन र नयाँ राजनीतिक शक्तिहरूको उदय भएको पृष्ठभूमिका बीच एमाले अध्यक्ष ओलीको यो भनाइ आएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us