मन्त्रीहरूको सम्पत्तिको वैधानिक आयस्रोत खुलाउन माग राखेर प्रदर्शन

काठमाण्डु टुडे २०८२ चैत ३० गते १७:२६ मा प्रकाशित

काठमाण्डू, ३० चैत– नेपाल सरकारका मन्त्रीहरूको हालै सार्वजनिक भएको सम्पत्ति विवरण अपारदर्शी भएको भन्दै प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले आज (सोमबार) काठमाण्डूमा विरोध प्रदर्शन गरेको छ ।

मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्तिको वास्तविक स्रोत खुलाउन र अवैध देखिएका सम्पत्तिमाथि तत्काल छानबिन प्रक्रिया अगाडि बढाउन माग गर्दै संगठनले सरकारमाथि दबाब सिर्जना गर्न विरोध प्रदर्शन गरेको हो ।

काठमाण्डूको माइतीघरमा प्लेकार्डसहित उत्रिएका विद्यार्थीले मन्त्रीहरूको विलासी जीवनशैली र सार्वजनिक गरिएको सम्पत्ति विवरणबीच मेल नखाएको समेत बताएका छन ।

प्रदर्शनकारीहरूले ‘सम्पत्ति देखियो—स्रोत कहाँ गयोरु’, ‘मन्त्रीहरूलाई सुनको बहार, जनतालाई महँगी उपहार’, र ‘सुनखानी प्रधानमन्त्री, शेयरखानी गृहमन्त्री’ जस्ता नाराहरू अंकित प्लेकार्ड प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरूले सरकारसमक्ष मुख्यतया तीनवटा माग राखेका छन् ।

मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्तिको वैधानिक स्रोत तत्काल सार्वजनिक गरिनुपर्ने, सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न एक उच्चस्तरीय स्वतन्त्र आयोग गठन गरिनुपर्ने, देशमा बढ्दो भ्रष्टाचार, सुन तस्करी र महँगी नियन्त्रणमा सरकारले ठोस कदम चाल्नुपर्ने उनीहरूको माग रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us