अमेरिकाले एकैसाथ ३५ नेपालीलाई गर्‍यो डिपोर्ट

काठमाण्डु टुडे २०८२ चैत २८ गते १७:३४ मा प्रकाशित

काठमाण्डू, २८ चैत– अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई डिपोर्ट गरेको छ । ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिएका छन ।

घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।

मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीका अनुसार, अन्यलाई भने विभिन्न नियम उल्लंघन गरेको आरोपमा अमेरिकाले डिपोर्ट गरिदिएको हो । पछिल्लो दुई महिनामा अमेरिकाबाट २ सय बढी नेपालीहरू डिपोर्ट भएका छन ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता अमेरिकाबाट पटकपटक नेपालीहरू डिपोर्ट हुँदै आएका छन् । ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ ।

भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काउने गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us