सभामुख अर्यालको सम्पत्तिबारे शंकर पोखरेलको टिप्पणीः श्रमिकबाट मालिक बन्नुभयो, विदेशबाट नेपालमा कसरी पैसा ल्याउनुभयो ?

काठमाण्डु टुडे २०८२ चैत २८ गते १४:११ मा प्रकाशित

काठमाण्डू, २८ चैत–एमाले महासचिव शंकर पोखरेलले सभामुख डोलप्रसाद अर्यालको सम्पत्तिमाथि प्रश्न उठाएका छन् ।
एमाले सम्पर्क मञ्चद्वारा शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित चियापान कार्यक्रममा पोखरेलले सभामुखको सम्पत्ति विवरण आश्चर्यजनक रहेको बताए । श्रमिकबाट मालिक बन्नु अपराध नभए पनि अर्यालले विदेशमा आर्जित सम्पत्ति कुन च्यानलबाट नेपाल ल्याएको भन्दै उनले प्रश्न गरे । उनले उक्त धनको श्रोतमाथि प्रश्न गर्दै राज्यलाई कर तिरिएको छ कि छैन भन्नेबारे अर्यालले जवाफ दिनुपर्ने उल्लेख गरे । ‘श्रमिकबाट मालिक बन्नु अपराध होइन । तर विदेशमा कमाएको भनिएको त्यो सम्पत्ति कुन च्यानलबाट आयो ? राज्यलाई कर तिरिएको छ कि छैन ? सभामुखजीले यसको जवाफ दिनुपर्छ’, उनले भने, ‘सुशासन अरूलाई तर्साउन होइन । आफैंले पालना गर्नका लागि हो ।’
यस्तै बालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरुले सम्पत्ति विवरण नबुझाएकामा पनि उनले प्रश्न उठाए ।

मन्त्रीहरुले सम्पत्ति विवरण बुझाउन आलटाल गर्नुले वर्तमान सरकार र नयाँ भनिएका शक्तिहरूको सुशासनको मुकुण्डो उत्रिएको आरोप उनको थियो । सुशासनको नाममा आएका मन्त्री र सभामुखले पारदर्शिताको धज्जी उडाएको आरोप पोखरेलले लगाए । पोखरेलले एमाले नेताहरू जुनसुकै अग्निपरीक्षा दिनसमेत तयार रहेको बताए । एमाले अध्यक्ष केपी ओलीलाई अनावश्यक दुःख दिइएको भन्दै पोखरेलले त्यसको कडा प्रतिवाद हुने चेतावनी दिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us