घुस लिँदै गर्दा वैदेशिक रोजगार विभागका नायब सुब्बा पक्राउ

काठमाण्डु टुडे २०८२ चैत २८ गते ९:३१ मा प्रकाशित

काठमाडौं — अख्तियार दुरूपयोग अनुसन्धान आयोग ले वैदेशिक रोजगार विभाग, ताहाचलमा कार्यरत नायब सुब्बा होमबहादुर मनाङीलाई घुससहित पक्राउ गरेको छ ।
आयोगका अनुसार अनुसन्धान तथा मुद्दा शाखामा कार्यरत ३८ वर्षीय मनाङीलाई शुक्रबार टंगालबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
उनले वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेर हैरानी दिएको उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
सोही क्रममा मनाङीलाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरिएको आयोगले जनाएको छ ।

उनलाई विभाग परिसरभित्रै रहेको शाखा नजिकको ‘सेवाग्राही प्रतिक्षालय’ आसपास साँझ ५:५४ बजे नियन्त्रणमा लिइएको हो ।
पक्राउका क्रममा उनको साथबाट स्रोत नखुलेको थप ७७ हजार ६०० रुपैयाँ पनि बरामद भएको आयोगले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us