काठमाण्डू, २७ चैत- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित आफ्नी सांसद् रूबीकुमारी ठाकुरलाई बहिनी सम्बोधन गरिएको भन्दै आपत्ति जनाएका छन् ।
ठाकुरको उम्मेदवारीको पक्षमा बोल्न शुक्रबार रोष्ट्रममा उभिएका उनले ठाकुरलाई बहिनी भनेर सम्बोधन गरिएकामा आपत्ति जनाएका हुन् ।
संसदमा बोल्दा कोही कसैको बहिनी, कोही नातिनी, कोही बाजे, कोही मामा भान्जा नहुने तर्क गर्दै उनले सबैले सबैलाई माननीय सम्बोधन गरिनुपर्र्ने दलिल प्रस्तुत गरे । ‘पूर्ववक्ता ज्यूहरूले कतिले हाम्रो माननीय रूबीकुमारी ठाकुरज्यूलाई रूबी बहिनी भनेर सम्बोधन गरेको मैले देखेँ । त्यो शब्दलाई खारेज गरियोस् । यहाँ कोही कसैको बहिनी, कोही नातिनी होइन । कोही बाजे, कोही मामा भान्जा भन्ने हिसाबले हामी यहाँ बोल्नु हुँदैन । यहाँ हामी सबैले एक अर्कालाई माननीय भनेर अर्कालाई बोलाइनु पर्छ भन्ने म माग गर्दछु’ उनले भने ।
यस्तै उनले पूर्ववक्ता सांसदले ज्येष्ठ नागरिकलाई अपमान गरेको भन्दै आपत्ति जनाए । ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्न सिक्नुपर्न भन्दै उनले प्रकृतिको नियमअनुसार
मानिस जन्मेपछि हुर्कने, बढ्ने, बुढो हुने र मर्ने स्पष्ट गरे ।
राप्रपा संसदीइ दलका नेता ज्ञानबहादुर शाहीले रुबीकुमारीलाई बहिनी सम्बोधन गरेका थिए । रास्पवाले आफ्नो पार्टीकी सांसद् सरस्वती लामालाई उपसभामुखमा समर्थन गर्ने बचन दिएर धोका दिएको आरोप लगाउँदै शाही आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए ।
शुक्रबार उपसभामुख चयनका लागि भएको निर्वाचनमा ठाकुर निर्वाचित भएकी थिइने ।