काठमाण्डू, २७ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबाहादुर शाहीले रास्वपा र त्यस पार्टीको बाध्यता बुझेको बताएका छन ।
आज (शुक्रबार) बसेको प्रतिनिधिसभाको उपसभामुखमा पार्टीका सांसद सरस्वती तामाङलाई निर्वाचित गरियोस् भनेर प्रस्ताव पेस गर्दै शाहीले रास्वपाले सुरुमा उपसभामुखमा समर्थन गर्ने भने पनि पछि नगरेको तर्फ सङ्केत गर्दै त्यसमा केही गुनासो नभएको पनि बताए । उनले भने, ‘केही गुनासो छैन, यो संसदमा राजनीति केही सिकियो र केही बुझियो पनि ।
तर याद रहोस् यो राजनीति सधैँ एउटै वेगमा बग्दैन, ‘तपाईँको बाध्यता बुझेका छौँ ।’ उनले राप्रपा कमजोर नहुने भन्दै अरूप्रति कुनै गुनासो नभए पनि संसद् सधैँ प्रतिपक्षमा रहेर भूमिका निर्वाह गर्ने बताए ।
उनले प्रस्ताव पेस गर्दै भने, ‘बाँकी तपाईँहरूको इच्छा ।’ शाहीको प्रस्तावको समर्थनमा राप्रपाकै सांसद ताहिर अली भाट र भरत गिरीले राप्रपाका सांसद पाँच पाण्डव एकातिर बाँकी अर्कोतिर भएको भन्दै यो विडम्बना भएको पनि बताएका छन ।