काठमाण्डू, २७ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले आफूले राजनीतिमा आश्वासन र धोका जायज हुने रहेछ भन्ने बल्ल बुझेको बताएका छन ।
आज (शुक्रबार) बसेको प्रतिनिधिसभाको बैठकमा उपसभामुखका उम्मेदवार सरस्वती लामालाई प्रस्ताव गर्दै सांसद शाहीले भने, ‘युद्ध र प्रेममा सबै कुरा जायज हुन्छ भन्ने पढेको र सुनेको थिए ।
अहिले राजनीतिमा आश्वासन र धोका जायज हुने रहेछन् बुझ्ने मौका पाए ।’उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति इङ्कित गर्दै यस्तो बताएका हुन । शाहीले बिहीबार लामिछानेले आश्वासन दिएपछि उपसभामुखमा लामाले उम्मेदवारी दिएको बताएका थिए ।
पछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीबाट उपसभामुखका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो । उनले राप्रपा प्रतिनिधि सभामा सङ्ख्यामा पनि थोरै भए पनि विचारमा बलियो रहेको पनि बताएका छन ।