काठमाण्डू, २७ चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आफूले धोका नदिएको बताएका छन् ।
आज (शुक्रबार) सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा रास्वपा सभापति लामिछानेले यस्तो बाएका हुन । उनले राप्रपालाई धोका नदिएको बताउँदै बरू अन्य कयौं सहकार्य बाँकी नै रहेको पनि बताएका छन । उपसभामुखमा आफूहरूलाई रास्वपाबाट धोका दिएको भन्दै राप्रपा सांसद शाहीले दुखेसो गरेको थिए ।
त्यसबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा रविले भने, ‘राजनीतिक संवाद हुने नै छन् । सम्भावनाहरू हुनसक्छ भनेर कुराकानी किन नहुनु र रु सबै दलहरूसँग भएको हो । धोका भन्दा पनि कहिलेकाहीँ अन्तिम समयमा हामीले सहि निर्णय गर्ने समय आउँदा कहिलेकाहीँ अन्य फ्याक्टरहरूले पनि काम गर्छन् । त्यस्तो केहि होइन ।’
उनले ज्ञानेन्द्र शाही आफ्नो सधैंको साथी भएको भन्दै अन्य राजनीतिक सहकार्य बाँकी नै रहेको पनि बताएका छन । उनले भने, ‘सहकार्य गर्ने ठाउँ कति आउँछ आउँछ नि । ज्ञानेन्द्रजी मेरो असाध्यै राम्रो साथी हो, उहाँ सधैं साथी रहिरहनुहुन्छ । राजनीतिक सहकार्य हाम्रो कयौं गर्न बाँकी छ । एउटा माघले कहाँ जाडो जान्छ र ?’