काठमाण्डू, २७ चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफन्त र साथीभाईलाई नियुक्ति दिलाउनका लागि नलाग्न आफ्ना पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन ।
आज (शुक्रबार) सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकमा बोल्ने क्रममा रास्वपा सभापति लामिछानेले यस्तो निर्देशन दिएका हुन् ।
‘आफन्त र सथीभाईलाई नियुक्ति गर्न नलाग्नू,’ सभापति लामिछानेको भनाइ उद्धृत गर्दै रास्वपाका एक सांसदले भने । आफूहरू जेनजीहरूको बलिदानबाट यो ठाउँमा आइपुगेको भन्दै उनले त्यसलाई स्मरणमा राख्न सांसदहरूलाई भने ।
‘यो जेनजी भाइ बहिनीको बलिदानले यहाँ आइपुगेका छौं,’ सभापति लामिछानेले भनेका छन् । दलको बैठकमा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पनि सहभागी थिए ।
यद्यपि उनले बैठकमा केही पनि बोलेनन् । संसदीय दलको बैठकले उपसभामुखमा श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेकी रूबी ठाकुरको पक्षमा मतदान गर्ने निर्णय पनि गरेको छ ।