काठमाण्डू, २७ चैत– पोखरामा चैत २५ गते साँझ बीच बजारमै विभत्स घटनाले धेरैलाई विक्षिप्तमात्रै बनाएन, सुरक्षा संयन्त्र माथिसमेत प्रश्न खडा गरिदियो । शिवालय चोकबाट सभागृह चोकतर्फ हिँडिरहेकी महिलाको कन्चटमा धारिलो हतियार प्रहार गरी एक समूह फरार भयो ।
खुकुरी प्रहारले रन्थनिँदै सडकमै ढलेकी महिलाको मृत्यु हुन्छ । मृतक पोखरा–५ की सिर्जना पौडेल केसी रहेको खुल्छ । पौडेल एकल महिला थिइन् र उनले पृथ्वीचोकमा जुत्ता पसल सञ्चालन गर्दै आइरहेकी थिइन् ।
जेठी श्रीमतीले विष सेवन गरेर आत्महत्या गरेपछि कृष्ण केसीले ४ वर्षअघि सिर्जनालाई विवाह गरेका थिए । २ वर्षअघि कृष्णको पनि मृत्यु भएको थियो । उनको अहिले ३ वर्षकी छोरी छन् । विवाह र श्रीमानको मृत्युपछि बढेको पारिवारीक कलह र अंशमुद्दाको विवादले सिर्जनाको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले अन्ततः हत्यामा आफ्नै भाञ्जा संलग्न रहेको निश्कर्ष निकाल्दै पक्राउ गरेको छ । जो पटक–पटक लागुऔषध, अभद्र व्यवहारदेखि चोरीसम्मको अभियोगमा यसअघि नै हिरासतमा परेका थिए । खुकुरी प्रहार गरेर भाग्ने भाञ्जालाई प्रहरीले समातेको छ भने मोटरसाइकल चालकको खोजी गरिरहेको छ ।
प्रहरी अनुसन्धानले विभत्स हत्यापछिका रहस्य पछ्याउँदै गइरहेको छ र जसले अनुसन्धानमै खटिएका प्रहरीलाईसमेत अचम्मित पारिरहेको छ । जीवनका दुःखसुख साट्ने कसम खाएर विवाह गरेका श्रीमान २ वर्षअगाडि नै बिते । त्योभन्दा एक वर्ष अगाडिमात्रै छोरी जन्मिएकी थिइन् । छोरीले बाबु चिन्नै पाइनन्, उनले श्रीमानको माया र सहयात्रा पाइनन् ।
पोखरा–मालेपाटनकी सिर्जना पौडेल केसीलाई के थाहा आफ्नो जीवन पनि यति विभत्स र हृदयविदारक भएर सकिने छ । जेठी श्रीमतीले विष सेवन गरेर आत्महत्या गरेपछि मालेपाटनका व्यवसायी कृष्ण केसीले सिर्जनालाई ४ वर्षअघि विवाह गरेका थिए । कृष्णले उनलाई जीवनभर साथ दिने कसम खाएका थिए तर विवाहपछि पारिवारीक कलह र विवादले तनाव सिर्जना गरिरह्यो ।
२ वर्षअघि श्रीमानको मृत्यु भएपछि जेठीतिरका छोराछोरीसँग उनको विवाद चलिरह्यो । उनले अदालतमा अंशमुद्दा हालेकी थिइन् । पोखरा मालेमापाटनमा खसीबोकाको ताजा मासु बेच्ने कृष्णले मालेपाटन र सेदीमा घर जोडेका थिए । सिर्जना सेदीस्थित घरमा बस्थिन् र पृथ्वीचोकदेखि नागढुंगातर्फ स्याङ्जा जाने बस छुट्ने सडक छेउमा जुत्ता पसल गर्दै आएकी थिइन् ।
चैत २५ गते बुधबार साँझ उनले अघिल्ला दिनहरुमा जस्तै पसल बन्द गरेर शिवालय चोक हुँदै सभागृह चोकतर्फको बाटो हुँदै घर फर्किंदै थिइन् । सभागृह चोक निस्कनुभन्दा थोरैअघि उनको कन्चटमा कसैले धारिलो हतियार प्रहार गर्यो ।
उनी रन्थनिँदै सडकमा बजारिइन् । टाउकाबाट हुलहुल्ती रगत बग्यो । टाउकोभित्री भागसमेत निस्कने गरी भएको हतियार प्रहारले उनको प्राण नै छिन्यो । बुधबार साँझ ७ बजेतिर भएको यो दर्दनाक र विभत्स हत्याले धेरैलाई विक्षिप्त बनायो ।