काठमाण्डू, २६ चैत– प्रहरीले सिराहा नगरपालिका–१५ बुधौराबाट लागुऔषध ब्राउन सुगरसहित तीन जना युवकलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरी चौकी खिरौनाबाट खटिएको गस्ती टोलीले उनीहरूलाई पक्राउ गरीउको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा सिरहाको धनगढीमाई नगरपालिका– ३ बस्ने १९ वर्षीय अभिषेक मुखिया, गोलबजार नगरपालिका–१२ बस्ने १९ वर्षीय अभिषेक मुखिया र सोही ठाउँका २१ वर्षीय अरविन सिंह रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, गत चैत २४ गते साँझ करिब ७ः०० बजेको समयमा भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०१–००४ प २६८८८८ नम्बरको मोटरसाइकललाई शङ्का लागेर चेकजाँच गर्दा उक्त पदार्थ फेला परेको थियो ।
मोटरसाइकलको इन्धन ट्याङ्कीको बिर्कोभित्र लुकाएर राखिएको ३ वटा प्लास्टिकको पोकामा ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। बरामद गरिएको उक्त पदार्थको तौल प्लास्टिक सहित ४ ग्राम ६० मिलिग्राम र प्लास्टिक बाहेक २ ग्राम ५०० मिलिग्राम रहेको छ । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय सिराहामा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ ।
उनीहरूलाई चैत २५ गते सिराहा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक ओम प्रकाश पण्डितले जानकारी दिएका छन ।