धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने आयोगको निर्णय

काठमाण्डु टुडे २०८२ फागुन २४ गते १६:३८ मा प्रकाशित

काठमाण्डू, २४ फागुन– निर्वाचन आयोगले धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय भएको छ । आयोगको निर्णयअनुसार आजै धनुषा–१ निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरिएको शाखा अधिकृत (कानून) अरुण अधिकारीले जानकारी दिए ।

आयोगले यही फागुन १८ गते धनुषा– १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको प्रमाण प्राप्त भएको भन्दै खारेज गर्ने निर्णय गरेको थियो ।

सो निर्णयका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा परी विचाराधीन रहेकाले सो सम्बन्धमा अदालतबाट आदेश नभएसम्म धनुषा–१ को पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मत परिणाम घोषणा नगर्नु नगराउनुहुन आयोगको आजको निर्णयअनुसार अनुरोध गरिएको उहाँले हस्ताक्षर गर्नुभएको पत्रमा उल्लेख छ ।

सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पत्र तामेल गराई सोको जानकारी आयोगसमक्ष दिन प्रदेश निर्वाचन कार्यालयलाई बोधार्थको पत्र पठाइएको पनि शाखा अधिकृत (कानून) अधिकारीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us