सुर्खेत प्रहरी हिरासतमा एक थुनुवाको मृत्यु

काठमाण्डु टुडे २०८२ कार्तिक २१ गते १२:५० मा प्रकाशित

काठमाण्डू, २१ कात्तिक– जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११, पिपिराका ३५ वर्षीय गंगे सुनारको शुक्रबार बिहान मृत्यु भएको हो ।

लागुऔषध मुद्दामा पक्राउ परेका सुनार ८७ दिनदेखि सुर्खेत हिरासतमा रहेका थिए । सुनार शुक्रबार बिहान ६ बजेको समयमा ओछ्यानमै सुतेको बेलामा बेहोस अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिएका छन ।

उनका अनुसार सुनारसँगै सुतेका साथीले बिहान उठाउन खोज्दा नउठेपछि ड्युटीमा भएका प्रहरीलाई खबर गरेका थिए । सुनार लागुऔषध प्रयोगकर्ता र उच्च रक्तचापका बिरामी रहेको प्रहरीले जनाएको छ ।

उनले नियमित औषधि सेवन गरिरहेका थिए । चार दिनअघि मात्रै सरकारी वकिल कार्यालयमा मुद्दा गएर आज उनको मुद्दामा पेसी रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us