हामी माओवादीको दर्ज्यानी चिन्ह मिल्क्याएर आयौंः राम कार्की

काठमाण्डु टुडे २०८२ कार्तिक १८ गते १५:२७ मा प्रकाशित

काठमाण्डू, १८ कात्तिक– नेकपा माओवादी केन्द्र छाडेका नेता राम कार्कीले समाजवादी विचारधार भएकाहरूलाई एकतावद्ध हुन आग्रह गरेका छन ।

आज (मंगलबार) ललितपुरमा आयोजित वाम धुव्रीकरण घोषणाबारेको पत्रकार सम्मेलनमा नेता कार्कीले यस्तो आग्रह गरेका हुन । उनले आफूहरूले पार्टीको पदीय भूमिका छाडेर एकतावद्ध हुन खोजेको पनि बताएका छन ।

यतिका वर्षसम्म संघर्ष गर्दा पनि पार्टीका नेताहरूलाई विस्थापन गर्न नसकेको भन्दै एकीकृत समाजवादी अभियान सुरु गर्न लागेको उनले बताए । संगठित भएका वा नभएका सबैलाई गोलबद्ध हुन उनको आग्रह छ । त्यसका लागि आफू रहेको पार्टीले दिएको जिम्मेवारी छाडेर आउन उनले भनेका छन् ।

विभिन्न समूहमा रहेका वा नरहेका सबै देशभक्त, जनवादी सोच राख्ने, समाजवादलाई लक्ष्य राख्ने समाजवादलाई लक्ष्य ठान्ने सबैजना आफ्नो नेताहरूले दिएको पदीय भूमिका छाडेर आउन उनले आह्वान गरे ।

नेता कार्कीले नेता जनार्दन शर्मा, नेतृ अन्जना विशंखेलाई देखाउँदै भने, ‘उहाँ –जनार्दन को दर्ज्यानी चिन्ह उपमहासचिव हो, मेरो सचिव हो, उहाँको स्थायी समिति सदस्य हो, हामी त्यो दर्ज्यानी चिन्ह मिल्क्याएर आएका छौं, यसरी नै समाजवाद प्रति प्रतिबद्ध, यो नयाँ युवापुस्ताप्रति विश्वास गर्ने सबैलाई हामी के भन्छौं भने यस्ता दर्ज्यानी चिन्हहरू, पूर्वाग्रहहरू, मेरै पार्टी ठूलो, मेरै पार्टी राम्रो भन्ने सारा आग्रहहरूलाई त्यागेर एउटा एकीकृत समाजवादी अभियान सुरु गर्न जुट्न हामी सबैलाई आग्रह गर्दछौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us