काठमाण्डू, १५ कात्तिक–एमाले सचिव योगेश भट्टराईले माओवादीसँगको एकताको विरोधमा उभिएको एकीकृत समाजवादीका नेताहरुलाई घर फर्कन अध्यक्ष केपी ओलीले घर फर्कन गरेको आह्वानको स्वागत गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले एमाले निर्माणमा योगदान गरेकाहरूलाई पार्टीमा समाहित हुन ओलीले गरेको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक रहेको बताए ।
जनताको बहुदलीय जनवादको मार्ग निर्देशन र एमालेको अगुवाइमा समग्र वाम आन्दोनाई एकताबद्ध बनाउनु आजको राष्ट्रिय कार्यभार रहेको उनको भनाइ छ ।
‘नेकपा एमालेको निर्माणमा योगदान गरेका कमरेडहरूलाई पुनः यो आन्दोलनमा समाहित हुनका लागि पार्टी अध्यक्षले गर्नुभएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ’, भट्टराईले लेखेका छन्, ‘जनताको बहुदलीय जनवाद (जबज) को मार्ग निर्देशन र एमालेको अगुवाइमा समग्र वाम आन्दोलनलाई एकताबद्ध बनाउनु आजको राष्ट्रिय कार्यभार हो ।’
निषेध, प्रतिशोध र घृणालाई त्यागेर सहकार्य र सहअस्तित्वका माध्यमबाट पार्टी सुदृढ र एकताबद्ध बनाउन सकिने विश्वास उनले व्यक्त गरेका छन् ।
जनताको बहुदलीय जनवादलाई सिद्धान्तका रूपमा स्वीकार गर्नु एकताको पहिलो आधार भएको उनले बताए ।
यस्तै पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको योगदान र निरन्तरतालाई स्वीकार गर्ने, भदौ २३ र २४ पछि उत्पन्न परिस्थितिको गम्भीर र वस्तुनिष्ठ समीक्षा गरी पार्टीको बहुआयामिक पुनर्गठन गर्ने र आगामी प्रतिस्पर्धामा एमालेलाई विजयी बनाउने, एमालेको नेतृत्वमा आर्थिक र सामाजिक रूपान्तरण गरी सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्नुपर्ने प्रस्ताव भट्टराईले अघि सारेका छन् ।
एकीकृत समाजवादीको बहुमतले माओवादी केन्द्रसहित समाजवादी मोर्चामा आवद्ध दलहरुसँग एकता गर्ने निर्णयमा असहमति जनाएका भलनाथ खनाल, घनश्याम भुसाल र रामकुमारी झाक्री लगायतलाई ओलीले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत घर फर्कन अपिल गरेका थिए ।